धर्म र राजनीति सन्दर्भ : भारत, पाकिस्तान, चीन सम्बन्ध

आधुनिक युगमा पनि धर्म कै नाममा राजनीति गरेर कैयन् तानाशाहदेखि प्रजातान्त्रिक नेता भनाउँदाले समेत आफू लोकप्रिय हुने र सत्तामा टिकेर बस्ने सोच राखेको देखिन्छ।
यस्ता तानाशाही सोच भएका शासक तथा नेताहरूले धर्म र राष्ट्रियताको आडमा राज गर्ने र धर्म र जातीयतालाई अघि सारेर समाजमा विभाजन ल्याउने र आफ्नो स्वार्थ पुर्ती गर्ने गरेको पाइन्छ।
विश्वमा विभिन्न मुलुकबीच धर्म कै निम्ति काटमार चलिरहेकै छ भने कैयन् मुलुकभित्र धर्मलाई कारण बनाएर गृहयुद्ध समेत गर्ने परिपाटी कायमै छ। धर्म कै निम्ति मुलुकहरू विखण्डन हुने क्रम जारी नै छ। तर विखण्डन पछि पनि ती मुलुकहरूमा शान्ति र समृद्धि आउनुको साटो अशान्ति र झैझगडा तथा अराजकता कायमै रहेको पाइन्छ।
कम्युनिष्ट मुलुकहरूले एक ताका अर्को चरमसीमा नाघेर सबै धर्म र संस्कृतिलाई भौतिक र मनोगत रूपमा नै तहस नहस पारे। चीनको सांस्कृतिक क्रान्ति कै उदाहरण लिन सकिन्छ।
चिनी जनसंघर्षमा ठूलो नेतृत्वदायी भूमिका निभाएका अध्यक्ष माओ त्सेतुङ कै आदेशमा चीनका धेरै वौद्ध गुम्बा, अध्ययन केन्द्र तथा क्रिस्चियन र मुस्लिम धर्मका केन्द्रहरू समेत मासिन पुगे। अफगानिस्तानको बामियानमा केही दशक पहिले तालिवानले त्यस्तै वितण्डा मच्चाएर वौद्ध सभ्यता र स्मारकहरू ध्वस्त पारिदिए। यो सब राजनीतिक चालवाजी कै उपज थियो।
उत्तरी अफ्रिकाको विशाल मुलुक सुडान पश्चिमा राष्ट्रहरूद्वारा समर्थित क्रिश्चियन र अरब राष्ट्रहरूद्वारा समर्थित मुस्लिम खेमामा विभाजित भएर विखण्डन कै चपेटामा पर्न गयो। तर आज पनि दुवै सुडानमा शान्ति, समृद्धि र स्थायित्वको नामोनिसान भेटिँदैन। साइप्रसको त्यस्तै हालत छ।
उता नाजीहरूको ठूलो दमन र अत्याचारको कारण दोस्रो विश्वयुद्धमा लाखौँको संख्यामा मारिएका यहुदीहरू मध्ये बच्न सफल र तिनका सन्ततीले आफ्नो छुट्टै मुलुक इजरायल बनाउने अवसर पाएर आज त्यतिका धेरै प्रगति हासिल गरेका भए पनि उनले आफ्नो विगतको दुख बिर्सेर नाजी भन्दा पनि निरङ्कुश बन्दै प्यालेस्टाइनीहरूको अस्तित्व नै मेटाउने अति निर्मम र खुनी कार्यमा लागेका छन्।
आजको २१औँ शताव्दिमा पनि भिन्न जात र धर्मको भएकै कारण हजारौँ बच्चा, महिला, युवा र बुढा प्यालेस्टाइनीहरू इजरायल र हमासको जुधाईमा मिचिएर बमको विस्फोटका साथै बन्दुकको निशाना बन्दै मृत्युवरण गर्न वाध्य भइरहेका छन् भने सो भिडन्तबाट बचेकाले पनि खण्डहर बनेको आफ्नो मुलुकमा खाना, पानी, औषधोपचार र ओतको निम्ति छट्पटाई रहँदा समेत सम्पुर्ण विश्व मुकदर्शक भएर बसेको छ।
धेरै टाढा किन जानु हामी। दक्षिण एशिया कै कुरा गरौँ न। कुनै बेला बेलायतले आफ्नो उपनिवेश बनाउने क्रममा एउटा व्यापारिक कम्पनीको रूपमा पसेर भारतवर्षका अधिकांश साना साना राज्यहरूलाई पराजित गर्दै एउटा विशाल मुलुक बनाउन सफल भयो र सो क्रममा उसले मुगलहरूको सभ्यता झल्कने दिल्लीको लालकिल्लाको ८० प्रतिशत हिस्सा ध्वस्त पारिदियो।
त्यहाँको प्राकृतिक स्रोत, साधन र अथाह सम्पत्ति दोहन गरेर आफ्नो मुलुकमा पुर्याउने क्रमलाई दशकौँसम्म कायम राख्यो। तर बेलायतले नै हिन्दूहरूको सती प्रथा तथा अन्य यस्ता कुरितीलाई हटाउन पनि प्रयत्न गरेको थियो।
दोहन गर्ने प्रकृयामा नै भारतमा यातायात, जलविद्युत तथा खनिज, उद्योग र वाणिज्य र अन्य धेरै महत्वपूर्ण पूर्वाधारहरूको विकास पनि गर्नुका साथै सामाजिक, आर्थिक र प्रशासनिक रुपान्तरणसमेत गरिदिएको थियो बेलायतले।
सनातन धर्मभित्र जातपातको ठूलो भेदभाव अझसम्म पनि रहिरहेकोले नै त्यतिबेला बेलायती तथा अन्य पश्चिमा मुलुकहरूको प्रभावमा परेर तल्लो जातका भनिएका हजारौँ हिन्दूहरूले क्रिस्चियन धर्म अँगाल्न पुगे।
भारतको सम्बिधान निर्माणमा अहम् भूमिका खेलेका विद्वान व्यक्तित्व तथा नेता डा. भीमराव रामजी अम्बेडकरले आफू पनि दलित भएकै कारण जीवनमा निकै हण्डर खानु परेको थियो भने हिन्दू धर्ममा भएको यो विकृति कै कारण उनले विभिन्न धर्महरू बारे गहन अध्ययन गरेका थिए।
अन्तमा उनी सबै धर्ममा यस्ता विकृति रहेको र वौद्ध दर्शन भने अरु धर्महरू भन्दा उत्तम रहेको निष्कर्शमा पुगेका थिए र वौद्ध दर्शनसँग नजिक हुन पुगेका थिए।
भारतमा दोस्रो विश्वयुद्ध अघिदेखि नै त्यहाँका नेता तथा जनताले स्वतन्त्रता संग्रामको जरो गाड्दै गएकोले विश्वयुद्धको अन्त पछिको नयाँ परिवेशमा बेलायतले भारत छोडेर जान वाध्य हुनु पर्यो।
तर आफूले छोडेर जानै परे पछि भारत एक विशाल राष्ट्र नरहोस् र भविश्यमा पश्चिमा मुलुकहरू माथि उसको आधिपत्य रहन नपाओस् भनेरै होला बेलायतले धर्म रूपी अस्त्रको प्रयोग गरेर भारतीय जनतालाई विभाजिग गराउन सफल भयो। अनि कट्टर हिन्दू र मुसलमान विचारधाराको प्रवाहका साथै विपरित ध्रुवका नेताहरू पैदा हुने माहौल खडा गरिदियो।
भिन्दै परिवेशका श्रीलंका र बर्मा त स्वतन्त्र हुने नै भए, आफैंले एकीकरण गरेको भारतका हिन्दू र मुसलमान बीच द्वन्द्वको वातावरण सिर्जना गरिदिएर बेलायतले सन् १९४७ मा भारतलाई दुई राष्ट्रमा विभाजन गरिदियो।
यो विभाजन यति अप्राकृतिक थियो कि मुसलमानहरूको राज्यको रूपमा भारतको सुदूर पश्चिम र सुदूर पूर्वमा निकै टाढा रहेका तथा धर्म एकै भए पनि फरक संस्कार भएका भूभागलाई पाकिस्तान बनाउने गरि सिमा रेखांकन गरिदियो भने चारैतिरबाट भारतले घेरिएका जुनागढ र हैदरावादलाई पनि धार्मिक हिसाबले नै पाकिस्तानको हिस्सा हुने बखेडा मच्चाइदियो।
उता स्वतन्त्र हुन खोजेको काश्मिर बारे कुनै ठोस निर्णय नगरिदिएकोेले यो राज्य भारत, पाकिस्तान र चीनको लुछाचुँडीमा पर्न गयो। आज यही काश्मिरको विवादले भारत र पाकिस्तान तथा भारत र चीन बीच ठूलो वैमनस्यता र युद्धको अवस्था आइ परिरहेको छ।
धर्मको कारण मुलुक विभाजन हुने क्रममा महात्मा गान्धी जस्ता महान् नेताले अनाहक मृत्युवरण गर्नु पर्यो भने लाखौँ हिन्दू, मुसलमान र सिखले आफ्ना बासस्थान छोडेर भाग्ने क्रममा ज्यान गुमाउनु पर्यो।
यो विभाजन कै कारण हजारौँ परिवार छिन्न भिन्न हुनुका साथै परिवारका सदस्यहरू आफ्नो जन्मभूमि छाडेर भाग्नु पर्ने अवस्थाले गर्दा भिन्दा भिन्दै मुलुकका नागरिक हुन पुगे तथा धेरैले आफ्ना निकटतम नातेदारलाई कहिल्यै भेट्न पाएनन्।
दक्षिण एसियाको इतिहासमा धर्मको लागि भएको यो विभाजन विश्वमा नै अति दर्दनाक घटनाको रूपमा दरिएको छ। त्यतिबेला देखि नै भारत र पाकिस्तानमा एक अर्कालाई घृणाको दृष्टिले हेर्ने परिपाटीको विकास भयो।
यसो हुँदा पनि दुवै देशका जनता एक अर्काका संगीत, कला, साहित्य र सिनेमा तथा खेलकुदबाट प्रभावित छन्। तर दुवै मुलुकका सरकार र सरकार समर्थक सञ्चार माध्यम भने एक अर्काको कटाक्ष गर्ने गर्दछन्।
यस्तै घृणा र असुरक्षाको मनस्थितिले कुनै पनि बेला युद्ध निम्तिन सक्ने भन्दै यी दुई राष्ट्र आफ्नो सैन्य बललाई कसरी मजबुत बनाउने भन्ने धुनमा सधैँ लागेका हुन्छन्। दुवै मुलुकले आणविक शक्ति सम्पन्न हुन अथक प्रयत्न र स्रोत खर्च गरेर आखिर सफल भइछोडे।
उता अधिकांश पश्चिमा राष्ट्रहरू यी दुई राष्ट्रका हात हतियार र सैन्य सामग्रीका बजार हुन पुगेका छन्। भारत र पाकिस्तानले स्वतन्त्रता पश्चात् निकै ठूलो आर्थिक विकास गरेका भए पनि उनीहरूको वजेटको ज्यादै ठूलो हिस्सा सैन्य बन्दोवस्तीमा नै खर्च हुने गरेको छ।
हिन्दू र मुसलमानको बेमेलको कारण टुक्रिएको भारतमा आज पनि पाकिस्तानको हाराहारीमा करिव २१ करोड मुसलमान नागरिक छन्। विगतमा बेला बेलामा हिन्दू-मुसलमान दङ्गा हुने गरेको भए पनि हिजोआज त्यस्तो दङ्गा कम हुँदै गएको छ, तर पनि एक अर्काका मस्जिद र मन्दिर तोडेर नयाँ संरचना बनाउने र झैझगडामा अल्झिएर बस्ने क्रम जारी नै छ।
भारतमा शिखहरू पनि बेला बेलामा आन्दोलित हुने गरेका छन्। भारतको सबैभन्दा ठूलो र सत्ताशीन दल नै हिन्दूवादी पार्टी हो। तर भारत विश्व कै सबैभन्दा बढी जनसंख्या भएको ठूलो प्रजातान्त्रिक र धर्मनिरपेक्ष मुलुक भएकोले आधुनिकतासँगै धार्मिक सहिष्णुता पनि बढ्दै गएको छ। यस्तो हुनुमा त्यहाँको विशाल वौद्धिक जमात र दलहरूमा वौद्धिकता भएका व्यक्तिहरूको अधिक संख्याको पनि ठूलो योगदान छ।
दक्षिण एसियामा आज नेपाल सबैभन्दा बढी धार्मिक सहिष्णुता भएको मुलुकमा गनिन्छ। तर यहाँ पनि विभिन्न अशान्ति मच्चाउन पल्केका भित्री र वाह्य तत्वले जाती र धर्मका बखेडा उठाएन शुरु गरेका छन्। श्रीलंकामा हिन्दू, बौद्ध र क्रिस्चियनहरू ठूलो संख्यामा भए पनि त्यहाँ पनि धार्मिक सहिष्णुता निकै बलियो छ। सिङ्गापुर त यो तथा अन्य धेरै कुरामा विश्वमा एक उदाहरणीय मुलुक कै रूपमा उभिएको छ।
यदि सन् १९४७ मा धर्म कै कारण भारत नटुक्रिएको भए र त्यहाँका हिन्दू, मुसलमान र अन्य धर्मावलम्बीहरू मिलेर बस्ने वातावरण बनेको भए भारतले आजको भन्दा निकै ठूलो प्रगति गरिसकेको हुने थियो र विश्वमा एक विशाल शक्तिको रूपमा विकसित भइसक्ने थियो।
विभिन्न मुलुक बीच आआफ्ना कैयन् यस्ता पेचिला मामला हुन्छन् जुनको आपसी समाधानको निम्ति जो कोही नेताले बोल्ने आँट गर्नै सक्दैनन्। राम्रा, जोशिला र लोकप्रिय कुरा सबैले गर्न र बोल्न सक्छन् तर कैयन् तिता सत्यको समाधान गर्ने उपाय बारे बोल्ने आँट गर्ने निडर र दुरदर्शी नेता विरलै भेटिन्छन्।
आज भारत र पाकिस्तान दुवै मुलुक दाँतमा परमाणु बम बोकेर बसेका छन्। स्थल युद्धमा भारत निकै अगाडि भए पनि हिजोआजको युद्ध स्याटलाइट, रकेट, मिसाइल, ड्रोन र अत्याधुनिक प्रविधिको प्रयोगले गरिन्छ।
त्यस माथि क्षेत्रफल र जनसंख्याको हिसाबले भारतभन्दा तुलनात्मक रूपमा निकै सानो क्षेत्र ओगटेको मुस्लिम राष्ट्र पाकिस्तानले युद्धमा पराजय भोगेर तहस नहस हुने अवस्था आएमा आफ्नो अस्तित्वको बचाउको नाममा परमाणु अस्त्रको प्रयोग नगर्ला भन्न सकिँदैन।
भारतमा जस्तै पाकिस्तानमा पनि सुशिक्षित र संस्कारी नेता, प्रशासक र जनता भए तापनि विश्व रङ्गमञ्चमा भारत जति जिम्मेवार राष्ट्रको रूपमा पाकिस्तान अझसम्म पनि गनिन सकेको छैन। अर्को तर्फ हिन्दी र उर्दू कै कहावत ‘मर्ता क्या नहीँ कर्ता’ यहाँ पनि लागु हुन बेर छैन।
परमाणु युद्ध भएको खण्डमा हिमालयदेखि हिन्द महासागर र अरब सागरसम्म कै भूभाग ध्वस्त हुन कुनै समय लाग्ने छैन। यस्तो अवस्था आउन नदिन यी दुई मुलुकका सरकार र नेताहरूले हदै सम्मको बुद्धिमत्ता र लचकता अपनाउँदै कुटनीतिक चाल चल्नु पर्ने हुन्छ।
पाकिस्तान र चीन दुवै मुलुकसँग भारतको राम्रो सम्बन्ध नभएको यथार्थले गर्दा पाकिस्तान र चीन ज्यादै नजिकका मित्र हुन पुगेका छन्। चीनबाट अरब सागरमा सहज पहुँचको निम्ति चीनले पाकिस्तानको अधिनको काश्मिर हुँदै काराकोरम हाइवे निर्माणमा पाकिस्तानलाई सघाएको छ भने त्यहाँबाट करिव १,००० किलोमिटर दक्षिणमा अवस्थित शहर कराची नजिक विशाल बन्दरगाहको पनि निर्माण गरिदिएको छ। यो सब सामरिक स्वार्थले गर्दा पनि भारत-पाक युद्ध भएको खण्डमा चीन अदृश्य तवरले सामेल हुने देखिन्छ।
युक्रेन र रुसको युद्ध पछि ग्यास र तेलको आपुर्ति लाइन काटिदिएको रुसले सो इन्धनको केही अङ्श चीनतिर बेच्न शुरु गरेको छ र सो इन्धनको उपयोग चीनले आफ्ना पश्चिमी र दक्षिणी विकट क्षेत्रमा गर्न थालेको छ भन्ने सुन्नमा आएको छ।
निकट भविश्यमा रुसबाट यस्तो इन्धन चीनमा पाइप लाइन निर्माण गरेर ढुवानी गर्ने योजना भएको कुरा पनि सुन्नमा आएको छ। भारत र पाकिस्तान पनि इन्धनको ठूलो उपभोक्ता भएको हिसाबले र रुसको अभिन्न मित्र समेत भएको कारणले चीनबाट सो पाइपलाइन भारत र पाकिस्तान तर्फ पनि पुग्दैन भन्ने कुनै आधार छैन र रुसकै मध्यस्थतामा चीन र भारत तथा भारत र पाकको सम्बन्ध सो इन्धनको उपभोगको कारणले गर्दा पनि सुध्रिन सक्ने अवस्था आउन सक्छ। त्यस्तो अवस्थामा भारत-पाक सम्बन्ध सुधारमा चीनको पनि सहयोग मिल्न सक्ने देखिन्छ।
भारत र पाकिस्तान तथा भारत र चीन जस्ता तीन आणविक शक्ति राष्टहरूको सम्बन्ध सुधार गर्न कैयन् अडानहरूलाई तिलाञ्जली दिँदै विशाल सहमतिमा पुग्न तीनै वटा मुलुकका नेता र सरकारहरूले कैयन् अप्रिय निर्णयहरू लिनु पर्ने हुन सक्छ।
यस्ता अहम् विषयलाई टुङ्ग्याउन तथा मुलुकलाई उज्यालो भविश्यतिर लम्काउन मुलुकहरूले कैयन् महत्वपूर्ण विषयहरूमा अडान र झुकाव दुवै सिद्धान्तको प्रयोग गरेर सबैको जित हुने वीन वीन सहमतिमा पुग्नु पर्ने हुनसक्छ। यस्तो महान् कार्य बारे जो कोही नेताले सोच्न वा बोल्न पनि सक्दैन।
त्यसैले आजको २१औँ शताव्दिमा भारत, पाकिस्तान र चीनको सम्बन्धलाई सुमधुर बनाउने गरि सम्बन्ध सुधारको सहमतिमा पुग्न तिनै वटा मुलुकमा अति हिम्मतिला र इमान्दार अनि भविश्यद्रष्टा नेताहरूको आवश्यकता पर्न जान्छ।
भारतका नरेन्द्र मोदी र चीनका सी जिन पिङमा यस्तो नेतृत्वदायी भूमिका निर्वाह गर्ने हिम्मत र खुबी देखिन्छ तर पाकिस्तानमा पनि त्यस्तै शक्तिशाली, हिम्मतिला र पेचिला मामलालाई सहमतिमा पुर्याउन सक्ने दूरदर्शी नेताको उदय हुनु जरुरी छ। तर प्रश्न के उठ्छ भने– के आजका विकसित राष्ट्रहरू जो आफू वाहेक कुनै तेस्रो मुलुकले उँभो लाग्न नपाओस् भन्ने सोच राख्छन्, के उनीहरूले यस्ता कुरालाई अघि बढ्न देलान् त ?
– लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
Facebook Comment