विधिपूर्वक तुलसीको दल राखियो
काठमाडौं । आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ। यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन्।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ। तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइँबढाई दामोदरसँग विवाह गरिदिने धार्मिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
उक्त चार महिनालाई चतुर्मास पनि भनिन्छ। भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्धलगायत कार्य गर्न नहुने शास्त्रीय मान्यता छ। यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा अक्सिजन बढी पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजाआराधना गर्ने परम्परा बसालेका शास्त्रीय मान्यता रहेको भट्टराईले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment