अत्यधिक गर्मीले पर्सा र बाराका विद्यालय तीन दिन बन्द

डिसी नेपाल
२७ जेठ २०८२ १९:५०
64
Shares

पर्सा । अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन्।

पर्साको पोखरिया नगरपालिका प्रमुख प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीको कारणले जेठ २८ गतेदेखि ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको जानकारी दिए।

‘अत्यधिक गर्मीको कारणले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जेठ २८ देखि ३० गतेसम्म तीन दिन गर्मी बिदा दिने निर्णय गरेका छौं,’ उनले भने, ‘असार १ गतेदेखि भने विद्यालय सञ्चालन गरिनेछ।’

नगरपालिकाले बालविकासदेखि कक्षा १२ सम्मको पठनपाठन कार्य स्थगन गरिएको जनाएको छ। त्यस्तै पर्सासँगै जोडिएको छिमेकी कलैयाँ उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीको कारणले तीन दिन बिदा दिने निर्णय गरेको छ।

कलैया उपमहानगरका नगर शिक्षा शाखा प्रमुख राजीवकुमार यादवले अत्यधिक गर्मीको कारणले महानगर अन्तरगतका केही विद्यालयमा अध्ययरत विद्यार्थीहरूमा समस्या देखिएकाले जेठ २८ देखि ३० गतेसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरका अनुसार असार १ गतेदेखि भने विद्यालय निर्वाध रूपमा सञ्चालन हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *