मनोकांक्षा पूरा हुने मनकामना मन्दिर

भूमिका गैरे तिमिल्सिना
३१ जेठ २०८२ ७:१६

समुन्द्री सतहदेखि एक हजार तीन सय तीन मिटरको उचाईमा मनकामना मन्दिर अवस्थित रहेको छ। मनकामना मन्दिर गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्व भागमा अवस्थित नेपालको एक महत्त्वपूर्ण धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल हो।

मनकामना मन्दिरलाई गोरखाको एक महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। यो मन्दिर गोरखाको सदरमुकाम पोखरीथोक बजारबाट १२ किलो मिटर दक्षिण, तनहुँको आँबुखैरेनीबाट ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित रहेको छ।

मनकामना मन्दिरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भेगमा अन्नपूर्ण हिमाल र मनासलु हिमालका चुचुराहरु देख्न सकिन्छ। मन्दिर प्राङ्गणबाट बिहान बेलुकी सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य पनि देख्न सकिन्छ। किम्वदन्ती अनुसार मनकामना मन्दिर सत्रौं शताब्दीका राजा रामशाहकी रानी लिलावती अवतारी थिइन् रे! उनमा अदृश्य शक्ति थियो भन्ने जनविश्वास रहेको पाइन्छ।

मनको इच्छा पूरा गरिदिने मनकामना देवी भगवतीको मन्दिर नेपालको गोरखा जिल्लाको धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको एक पवित्र स्थलका साथै धार्मिक आस्थाको धरोहर पनि हो। नेपालको एकीकरण राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भाव जोडिएको यो एक पवित्र भगवतीको मन्दिर हो।

दशैंको महाअष्टमी, चैतेदशैंका अवसरमा यस मन्दिरमा विशेष पूजा गरिन्छ। मनले चिताएको इच्छा पूरा हुने भएकाले यस मन्दिरलाई मनकामना मन्दिर भनिएको हो। यिनै भगवतीको कृपा र गुरु गोरखनाथको आर्शीवादले पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरण गर्न सफल भएको इतिहासमा उल्लेख छ।

मनकामना मन्दिर दुई स्तर प्यागोडा शैलीमा बनेको छ। दुई तले यस मन्दिरको दुई छाना पित्तलको रहेको छ। वि.सं. २०७२ साल वैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पले मन्दिरमा क्षति पुगेको थियो।

सोही वर्षको अवसरमा क्षमापूजा गरी पुरानो मन्दिर भत्काएर राष्ट्रिय पुरातत्त्व विभागले तोकेको मापदण्ड अनुसार मन्दिरको गजुर, छाना र मूल ढोकामा सुनको जलप लगाएर मन्दिर निर्माण गरिएको छ। तामाको पातामा अठार किलो सुनको जलप लगाइएको छ।

अन्य मन्दिरको छानामा सुनको जलप लगाउदा नाइट्रीक एसिड प्रयोग गरेर लगाइने भएपनि मनकामना मन्दिरको छानामा सुनको जलप लगाउदा पुरानो प्रविधि अनुसार चुक, नुन, अमिलो र इट्टाको ढुटोहरु प्रयोग गरेर बनाइएको छ। त्यस्तै मन्दिर निर्माणका लागि आधुनिक सिमेन्ट, रड लगायतका कुनै पनि सामग्री प्रयोग नगरी ढुङ्‌गा, सुखी, इट्टा र काठ प्रयोग गरिएको छ।

पृथ्वीनारायण शाहका पूर्खा रामशाहकी श्रीमती रानी लिलावती साक्षात् भगगतीको रुपमा थिइन् तर राजा र जनता अगाडि उनी सामान्य रानी मात्र थिइन्। रानी लिलावतीको इश्वरी यथार्थता गुरु गोरखनाथ बाबालाई मात्र थाहा थियो।

यसैक्रममा गुरु गोरखनाथले रानी लिलावतीका लागि शुद्ध चित्त भएको भक्त खोज्न थाले। यस्तो शुद्ध चित्त भएको भक्त खोन्दै जाँदा उनले दाउरा काटिरहेका लखन थापालाई देखे। बाबा गोरखनाथले तत्काल जोगीको रूप धारण गरी सोधे, “तिमीलाई भोक लागेको छ, के खान भन लागेको छ भन?” भन्दा लखन थापाले भने, “मलाई खिर खान मन लागेको छ। ”

बाबा गोरखनाथले तत्काल आफ्नो दैवी शक्तिले एउटा ठूलो भ्यागुताको रचना गरी दुध दोहेर खिर पकाई ख्वाए। त्यसपछि बाबा गोरखनाथले आफ्नो प्रत्यक्ष रूप लखन थापालाई देखाइ‌दिए। लखन थापाको निष्पक्ष सरलता देखेपछि गुरु गोरखनाथले दरवारभन्दामाथि हाल रहेको लखनथापा बैठक गु‌फा लगेर शिक्षा र ज्ञान दिएर सिद्ध पुरुष बनाई रानीको सेवाका लागि दरवार ल्याए।

अहिले पनि लखन थापा अलप भएको ठाउँमा उनले टेकेको लाठी, रूखको ठुटा ,जहाँ उनले सिद्ध प्राप्त गरेको गुफा अगाडि चार फिट लम्बाइ र गोलाइको आकारमा रहेको छ। उनको सन्ततीले निरन्तर रूपमा कूलपूजा यसै स्थानमा गर्दै आइरहेका छन्। मनकामना मन्दिरमा साँझको शङ्‌ख घण्टी बजाएपछि बिहान देवीलाई चढाएको महाप्रसाद खुवाए बोल्न नसकेका बच्चा बोल्न सक्ने जन‌विश्वास रहेको छ। यो मन्दिरमा प्रत्येक ६/६ महिना तान्त्रिक विधिद्वारा पूजा गरिन्छ।

मनकामना मन्दिरका पुजारी इन्सान थापा मगर २०२६ सालमा बुवाको मृत्युपश्चात् पुजारीको जेठो सन्तान नै पुजारी हुने हुँदा मूल पुजारीका रुपमा रहेका छन्। लिलावतीले चिताबाटै सेवक सिद्ध पुरुष लखन थापालाई “मनकामना देवीको सेवा तिम्रै दरसन्तानले गरून् ” भनेकी थिइन्।

विगत ३०० वर्षदेखि मगर पुजारीद्वारा मन्दिरमा पूजा गरिँदै आएको छ। पुजारी थापा मगरका अनुसार राजा रामशाह वि. सं. १६१४ देखि १६३६ का रानी लिलावती अवतारी थिइन्, प्रथम सहिद, सेवक सिद्ध पुरुष लखन थापा लिलावतीका भक्त थिए।

एकपल्ट राजा रामशाहले गोरखाको उपल्लो कोट दरवारमा लखन थापा र रानीलाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन्। त्यसपछि राजा अचानक बिरामी भई स्वर्गीय भए। उनको अन्त्येष्टि मर्याङ्दी नदीको दरौँदी दोभान, बेनीको रामशाह घाटमा गरियो ।

त्यतिबेलाको चलन अनुसार रानी लिलावती पनि राजा रामशाहसँगै सती गइन्। भक्त लखनथापा शोकाकूल भई विलाप गर्दा रानीले भनिन्, “तिम्रो इच्छा पूरा गर्न तिम्रै गाउँको एक छेउमा फेरी प्रकट हुनेछु।” भनिन्।

त्यसको छ महिनापछि स्थानीय धनध्वज गुरुङले गोरु जोत्दा हलो अड्की एउटा शिलाबाट दुध र रगत बग्न थालेछ। दिव्यदृष्टि भएका लखन थापाले तान्त्रिक विधिद्वारा पूजा गरे पछि रगत र दुध बग्न रोकिएको र सोही थलोमा मनकामना देवीको मन्दिर लखन थापाको नेतृत्वमा निर्माण गरिएको थियो।

सो घट्नापछि रामशाहपछिका राजा डम्बर शाहले लखन थापालाई उक्त मन्दिरको हेरचाह र पूजापाठ गर्न जिम्मा दिएका थिए। गोरखाका राजाले मनकामना मन्दिरको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई पुजारी नियुक्ति गरी कूलगुठी र विर्ता लाममोहर लगाईदिएका थिए। मन्दिरमा लखन थापाको वंशकै पण्डित रहने नियम बन्यो। मनकामना मन्दिरका हालको पुजारी लखन थापाको सत्रौँ पुस्ताका सन्तान हुन्।

मनकामना मन्दिर दर्शन गर्न वर्सेनि हजारौ भक्तजनहरू गोर्खा आउँछन्। पूजाआजा गर्दा बलि पनि दिन्छन्, परेवा उडाउँछन्। मनकामना मन्दिर अगाडि रहेको भिमकाय चाँपको रूख करिब चार सय वर्ष पुरानो भएको स्थानीय वासिन्दाहरू बताउँछन्।

स्थानीय बासीहरुका अनुसार चाँपको यस रुखबाट कडा वासना आउँछ जुन वासना लमजुङसम्म पनि पुग्दैछ। उनीहरूका अनुसार हुरी ,बतास आउँदा धेरै पटक रुखका हाँगाहरु भाँचिएका तर वरिपरिका वासिन्दालाई अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको बताउँछन् । त्यसैले यो रुखमा पनि भगवतीदेवीको वास भएको मानिन्छ।

पृथ्वीनारायण शाहको खस र मगर सेनाहरुले लिम्बूवानी सेनाहरुलाई हराएपछि यहाँ आएर लखन थापा मगरले देवीलाई बलि भेट दिएको भन्ने कथन रहिआएको छ। मनकामना केवलकार वि. सं. २०५५ साल मङ्सिर ८ गतेदेखि सञ्चालन भएको नेपालको पहिलो केवलकार रहेको छ।

केवलकारबाट ११ मिनटमा मनकामना पुग्न सकिन्छ। पैदल यात्रीका लागि आँबुखैरेनीबाट चार घण्टाको उकालो हिडेर मनकामना पुग्न सकिन्छ। मन्दिरमा पन्ध्रभन्दा बढी देवीदेवताहरुका मन्दिर रहेका छन्।

ती मध्ये एउटा हो, बंकेश्वरी मन्दिर! यो मन्दिर मनकामना मन्दिरको पूर्वपट्टी अवस्थित रहेको छ। यहाँ वाक्य फुट्न नसकेका वा लुलालङ्गडा भएका बालबालिकालाई दर्शन गराएमा बालबालिकाको बोली फुट्ने र हातखुट्टा चल्ने जनविश्वास रहिआएको छ।

नेपाल, भारत लगायतका विभिन्न ठाउँबाट पर्यटकहरू दर्शन गर्न आउँने गर्दछन्। विशेष गरी बडादशैंको अष्टमी, चैतेदशैं, नागपञ्चमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन भक्तजनको ठुलो भिड लाग्छ।

मन्दिरमा नित्य पूजा बिहान ७: ०० बजेदेखि बेलुका ६:०० बजेसम्म गरिन्छ। साँझको आरती पनि निकै मनमोहक हुने गर्दछ। भित्री पूजा गरेर पुजारीले मन्दिर परिक्रमा गरेपछि मात्र सर्वसाधारणका लागि बलि र पूजा शुरु हुन्छ।

देवी भगवतीलाई सम्झी आँफूले चिताएको मनोकामना पूरा होस् भनि भाकल गर्छन र उक्त भाकल पूरा भई बर्सेनि हजारौं श्रदालु भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय मन्दिर, आस्था र विश्वासकी धरोहर शक्ति स्वरुपा मनकामना भगवतीले हामी सबैको कल्याण गरून्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *