‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’
फाइल तस्विर
इटहरी (सुनसरी)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले समावेशी सिद्धान्त अनुरुप संयमित र जिम्मेवार भएर राजनीति गर्ने बताएका छन्।
आज नेपाल तामाङ संघ कोशी प्रदेशद्वारा इटहरीमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेसले उत्तेजनात्मक र निषेधात्मक भन्दा समावेशी, संयमित र जिम्मेवार भएर राजनीति गर्ने स्पष्ट पारे।
महामन्त्री थापाले जातीय वा धर्मका आधारमा उत्तेजना फैलाउने र त्यसबाट लाभ लिने प्रवृत्ति कसैले गर्न नहुने बताउँदै समुदायमा समन्वय र सदभावपूर्व तरिकाले सबै एकापसमा मिलेर रहनुपर्ने धारणा राखे। उनले भने, ‘हाम्रो कांग्रेस मध्यमार्गी पार्टी हो। अधिकार दिने, समावेशीकरण गर्ने, चेतना फैलाउने, प्रशिक्षण दिने र आफू सुधारिने बाटोमा पार्टी अघि बढेको छ।’
संविधान संशोधन सबैको सहमतिका आधारमा हुने स्पष्ट धारणा राख्दै महामन्त्री थापाले एमाले, माओवादीलगायत पार्टीसँग छलफल तथा नागरिकस्तरमा संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले संविधान संशोधनले कुनै समुदायको अधिकार घट्ने होइन, अझ बलियो हुने बताए। ‘कसैलाई लाग्न सक्छ अधिकार खुम्चिन्छ, तर त्यस्तो हुँदैन । लेखिएको अधिकार अझै बढ्छ, घट्दैन’, उनले भने।
थापाले तामाङ समुदायको योगदानको कदर गर्दै तामाङ समुदायको समुन्नतिका लागि कांग्रेसले सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। कांग्रेस सबै जातजाति, धर्म, भाषा र समुदायलाई समेटेर अघि बढ्ने दल भएको उल्लेख गर्दै उनले भने, ‘कांग्रेसमा सबै अट्न सक्छन्, कांग्रेस सबैलाई अटाउने क्षमता राख्छ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment