बिदेशिएका नेपालीलाई स्वदेश फर्काउन वंशजको नागरिकता

नेपालमा कुशासन, गुणस्तरीय शिक्षा, रोजगार नपाएपछि युवाहरु स्वतः राम्रो शिक्षा र रोजागारको लागि बिदेश लाग्नु स्वभाविक हो। भनिन्छ अहिले झण्डै १ करोड नेपाली बिदेशमा छन्।
खाडी मुलुक, मलेसिया जाने केही समयपछि फर्केपनि बिकसित देश जानेहरु पढिसके पछि त्यहाँको ग्रीनकार्ड, पिआर पाएपछि त्यतैको राम्रो जागिरको लोभमा बिकसित देशमा बस्न चाहन्छन्।
अहिले बिकसित देशमा अध्ययन गर्न गएका नेपालीहरु ६० प्रतिशत भन्दा बढी नाम चलेका विश्वविद्यालयमा अध्ययन गरि आइटी, एआइ, डक्टर, इन्जिनियर तथा बैज्ञानिक भएर धेरै राम्रो कमाइ गरेर गुणस्तरीय जीवनस्तर बिताइरहेका छन्।
ती विज्ञ मानिस अहिले स्वदेशमा लगानी गरेर आफ्नो शिपको उपयोग गरि स्वदेशको बिकास गर्ने तिब्र इच्छा गरिरहेका छन्। त्यसैले एकपटकको नेपाली सधैंको नेपाली भनेर नागरिकतामा संशोधन गरियोस्।
अहिले गैर आवासीय नेपालीलाई दिएको परिचयपत्रले अंगीकृत नागरिकले जति पनि अधिकार पाउँदैनन्। नेपाल छिर्दा भिसा लगाएर आउनु पर्छ। राजनीति अधिकार पाउँदैनन्। आर्थिक अधिकारपनि सीमित मात्रमा दिने नीति बनाइएको छ।
यदि एकपटकको नेपाली सधैंको नेपाली भनि संविधानमा संशोधन गरिएमा धेरै क्षमतावान ब्यक्तिहरुले अरबौं रुपैयाँ लिएर स्वदेश फर्कन सक्छन्। अहिले धेरै देशहरुले बिदेशमा ज्ञान प्राप्त गरेका आफ्ना नागरिकलाई देशको बिकासमा लगानी गर्न स्वदेशमा सबै किसिमका सुबिधा दिएर भित्र्याइरहेका छन्।
खासगरी अहिले आइटीको समय छ। यसबाट संसारमा आफ्नो ज्ञान क्षमताको भरपुर सदुपयोग गरी ब्यक्ति मात्र होइन, देश पनि सम्पन्न हुँदै गइरहेका छन्। अहिले संसारको नम्बर एक बिकसित र धनी हुन गइरहेको देश चीनमा उसका बिदेशमा भएका क्षमतावान बैज्ञानिकहरु एआइका बिज्ञहरु स्वदेशमा फर्केर आफ्नो भरपुर योगदान दिएर चीनलाई शिखरमा पुर्याइसके। भारतको बैंग्लोर शहरलाई आइटीको हब भनिन्छ।
अहिले बैंग्लोर शहर भारतको सबभन्दा राम्रो आम्दानी गर्ने शहर हो। यो शहरमा अमेरिकाबाट क्षमतावान बैज्ञानिक, आइटी बिज्ञहरुले स्वदेशमा फर्केर देशको बिकासमा ठूलो योगदान दिइरहेका छन्।
अहिले अमेरिकामा भएका नेपाली मध्य ६० प्रतिशत एआइका बिज्ञ रहेका बुझिन्छ। उनीहरु संसारका जुन देशमा गएर पनि महिनाको हजारौं डलर कमाउन सक्छन्। तर उनीहरु आफ्नो बिज्ञता स्वदेशमा लगाउन चाहन्छन्। सरकारले पहल गरेर उनीहरुलाई स्वदेश फर्काउन पहल गरोस् भन्ने चाहन्छन्।
उनीहरु बारम्बार भिसा लिएर स्वदेश आउन भन्दा सरकारले एकपटकको नेपाली सधैंको नेपाली भनि नागरिकता दिने नीति ल्याओस्। नागरिकता सम्बन्धि संविधानमा केही संशोधन गरोस् भन्ने चाहना गरेका छन्।
सो बिषयमा नेपालका ठूला दलका नेताहरुमा यो आग्रह पुगिसकेको बताउँछन्। तर सरकारमा बस्नेहरु त्यति चासो दिएको पाइँदैन। यदि यस्ता बिज्ञ भित्र्याउन सके नेपाल दक्षिण एसियाको आइटी र एआइको हब बन्न सक्छ।
नागरिकता निरन्तरताले नेपाललाई के फाइदा भनि बहस चलाइरहेका अमेरिकामा बसोबास गर्दै गरेका टंक दाहाल र बासुदेब घिमिरेले बिदेशमा भएका नेपाली जस्ले नेपालमा फर्केर देशको बिकासमा सहयोग गर्न चाहन्छन् भन्नु भएको छ। उनीहरुलाई पुनः स्वदेशको बंशजको नागरिकता दिइयोस्।
यसबाट नेपालमा धेरै बिषयका बिज्ञ मात्र होइन साथसाथै नेपालमा अरबौं डलरका आम्दानीका श्रोत पनि आउनेछ। अहिले अमेरिकामा नेपाली बिभिन्न बिषयका बैज्ञानिक, कृषि बिज्ञ, ट्रेन बिज्ञ, टनेल बिज्ञ, एआइ बिज्ञ, बिशिष्ट डक्टर, इन्जिनियरलगायत धेरै बिज्ञ बिदेशमा बसेर करोडौं डलर कमाएर बसेका छन्।
ती क्षमतावान नेपाली मुलका नागरिक स्वदेशमा आएर लगानि गर्ने र आफ्नो बिज्ञता प्रदर्शन गरेर हजारौंलाई रोजगार दिन सक्ने क्षमता राख्छन्। त्यसैले सरकारमा भएका नभएका दलका नेताले यस बिषयलाई गम्भिरतापूर्वक लिने कार्य गरौं।
कमसेकम दलमा भएका युवा नेताहरुले दलका अध्यक्षहरुलाई घचघच्याउने कार्य गरौं। यो देश बिकासको ठूलो अवसर पनि हो। देश अहिले खाडी मुलुकलगायतका देशमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सले चलिरहेको छ जुनकुरा डेगिलो हुँदैन तर एआइको आम्दानीबाट चलेको देशको बिकासको स्थिरता प्राप्त हुनेछ।
हामीले आफ्नो देशको जमिन, पानी, जडिबुटी, बिद्युतको सही सदुपयोग गर्न पनि यस्ता बिज्ञको अत्यन्त ठूलो महत्व हुनेछ। यदि यस्ता कार्यमा पहल लिन कुनैपनि दल जसले गरेपनि त्यो दलको मात्र होइन देशले अत्यन्त ठूलो लाभ लिनसक्छ।
अहिले दुई ठूला दल कांग्रेस र एमाले मिलेर संविधानमा संशोधन गरेर राजसंस्थालाई पनि स्पेस दिने, धर्मनिरपेक्षता हटाउने, प्रदेश सरकार खारेज गराउने अथवा प्रदेश र स्थानीय निकायको संख्या घटाउने कुरा बाहिर सुनिन्छ। यी कार्य पनि देशको हितमा र सबै नेपालीलाई बिकासमा र एकतामा बाँध्ने कडी हुन सक्छन्।
त्यस्तै अहिलेको बिकासको नयाँ टेक्नोलोजी भनेको आइटी या एआइ नै हो। त्यस प्रविधिका योग्य हाम्रै नेपाली युवा अहिले बिदेशमा छन्। यदि बिकसित देशमा भएका यस्ता सक्षम र बिज्ञ नेपालीलाई भित्र्याउन यो संयुक्त सरकारले पहल गरेर सफल भयो भने मात्र यो सरकारले बिगतमा गरेका अपराधहरु नेपाली जनताले बिर्सँदै जानेछन्। किनकि नेपाली जनताले बिगतका खराब कुरालाई बिर्सँदै जाने र राम्रा कुराको तारिफ गर्नेछन्।
त्यसका लागि हामीले नागरिकता बिधेयकमा सिर्फ एकपटकको नेपाली सधैंको नेपाली भन्नेमात्र संशोधन गरौं। यसबाट सरकारमा बस्नेहरु आत्तिनु पर्दैन। यिनीहरुबाट बिरोध, हड्ताल, नारा जुलुस तोडफोड केही हुँदैन शिर्फ देशलाई जोड्ने, युवाहरुलाई सक्षम र बिज्ञ बनाउँदै देशलाई बिकासको फड्को मार्नमा मद्दत पुर्याउने छन्।
यदि अहिलेको पुस्तालाई स्वदेशमा फर्काउन सकिएमा उनीहरुका सन्तान अर्थात् हाम्रा छोरा छोरी, नाति नातिना पनि आफ्ना आमाबाबुको देश फर्केर आउन सक्छन्। अन्यथा अहिलेका पुस्तालाई हामीले वंशजको नागरिक नबनाउने हो भने यसपछिका सन्तानले आफ्नो भाषा बिर्सने मात्र होइन बुवाआमाको देश पनि बिर्सन्छन्।
यो अत्यन्त मार्मिक बिषय छ। यदि हामीले नेपालीलाई फर्काउन नसके बिदेशीले हाम्रो देश भर्नेछन्। यसलाई गम्भिर रुपमा लिन अत्यन्त आबश्यक छ नेताज्यू। तर देशमा हाल भएका दलीय ट्रेडयुनियन पूरारुपमा बन्द नगरिए उनीहरुले जतिसुकै बिज्ञहरु देशमा आएपनि उनीहरुले बिभिन्न भाँजो हालेर काम गर्न दिँदैनन्।
किनकि दलका कार्यकर्ता जतासुकैबाट पनि कमिसन खोज्छन् तर उनीहरु बिना मिहेनत पैसा कमाउनमा पोख्त हुन्छन्। यस प्रवृतिलाई पूरा बन्द गरी दलका सबै कार्यकर्ताको आफ्नो आम्दानीको पेशा छुट्टै हुनैपर्छ। राजनीतिको दुरुपयोग गरेर कमाउने बाटो पूरा तवरले बन्द गर्नैपर्छ।अन्यथा देशले कहिल्यै बिकास गर्ने संभव छैन।
अहिले साँच्चै भन्ने हो भने ठूला दल भनिएका दलका प्रमुखहरु सबैजसोको बिगत हत्या, अपहरण र भ्रष्टचारमा मुछिएका छन्। तैपनि जनता यिनैबाट पनि राम्रो कार्यको आकांक्षा गर्छन्।
देशमा सुशासन आओस्, देश बिकास भएर जाओस् अनि हाम्रा युवाहरुले स्वदेशमा राम्रो ब्यबहारिक शिक्षा पाएर रोजगार बन्न सकुन भन्ने मात्र आश गरेका छन्। यति कार्य गर्न सक्ने नेतृत्वले देश हाँकेमा देशको तनाव, द्वन्द्व कम हुँदै समृद्धिको सही बाटो लिने थियो। यसतर्फ सोचौं प्रधानमन्त्री तथा अन्य नेताज्यू।
Facebook Comment