लघुकथा : समाजसेवा

ईश्वर पोखरेल
२ असार २०८२ ११:३३

“पसल चल्दै चलेन, साहुजी! पटक्कै बिक्री भएन। कोही हेर्दा पनि हेर्दैन। केही दिन त नयाँ पसल हो, धेरैलाई थाहा छैन, बिस्तारै चल्ला भनेर चित्त बुझाइयो। तर अवस्था सुध्रेन।” शुभलालले घरपेटीसँग भन्यो।

पसल चल्दैचलेन भने त फेरि सटर खाली हुन्छ। घरपेटीको मनमा चिन्ता सल्कियो। बेलुकापख शुभलाललाई भेटेर उसले भन्यो- “पारि भित्तामा लेखेर एरोले पसल देखाऊ, अनि पो ग्राहकलाई थाहा हुन्छ त!”

शुभलालले त्यसै गर्‍याे।

भोलिपल्ट नगर प्रहरीले शुभलालको सातो लिएछ।

घरपेटी यो सबै घटनाबाट बेखवर थिएन।
उसले शुभलाललाई भन्यो- “अब अलिकति खर्च गर। एउटा स्टुल किन र पानीको एउटा जार त्यही लगेर राख। छेऊमा एउटा मग पनि राखिदेऊ। ‘पानी पिउनु होस्’ तिर्खा मेट्नु होस्’ भनेर त्यतै कतै लेखी राख।”

घरपेटीले केही क्षण सोचेर फेरि भन्यो- “यसपछि समाजसेवीमा पनि तिम्रो नाउँ चढ्छ।”

शुभलालले यो सबै गर्‍याे।

नतिजा सकरात्मक नै देखियो।

तर जार पाँचसात दिनमा रित्तो हुन थाल्यो।

शुभलाल फेरि घरपेटीकहाँ पुग्यो। “यसरी पानी खुवाउन त कसरी सकिन्छ र!” शुभलालले भन्यो।

घरपेटीले विषयको गाम्भीर्यतालाई मनन गर्‍याे र भन्यो- “पानीको जार राख तर मग नराखीकन समाजसेवा गर। अचेल सबै समाजसेवीहरु यसै गर्छन्।”

त्यही दिनदेखि शुभलाल समाजसेवाको नयाँ तरिकाबाट लाभान्वित हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *