लघुकथा : समाजसेवा

ईश्वर पोखरेल
२ असार २०८२ ११:३३
104
Shares

“पसल चल्दै चलेन, साहुजी! पटक्कै बिक्री भएन। कोही हेर्दा पनि हेर्दैन। केही दिन त नयाँ पसल हो, धेरैलाई थाहा छैन, बिस्तारै चल्ला भनेर चित्त बुझाइयो। तर अवस्था सुध्रेन।” शुभलालले घरपेटीसँग भन्यो।

पसल चल्दैचलेन भने त फेरि सटर खाली हुन्छ। घरपेटीको मनमा चिन्ता सल्कियो। बेलुकापख शुभलाललाई भेटेर उसले भन्यो- “पारि भित्तामा लेखेर एरोले पसल देखाऊ, अनि पो ग्राहकलाई थाहा हुन्छ त!”

शुभलालले त्यसै गर्‍याे।

भोलिपल्ट नगर प्रहरीले शुभलालको सातो लिएछ।

घरपेटी यो सबै घटनाबाट बेखवर थिएन।
उसले शुभलाललाई भन्यो- “अब अलिकति खर्च गर। एउटा स्टुल किन र पानीको एउटा जार त्यही लगेर राख। छेऊमा एउटा मग पनि राखिदेऊ। ‘पानी पिउनु होस्’ तिर्खा मेट्नु होस्’ भनेर त्यतै कतै लेखी राख।”

घरपेटीले केही क्षण सोचेर फेरि भन्यो- “यसपछि समाजसेवीमा पनि तिम्रो नाउँ चढ्छ।”

शुभलालले यो सबै गर्‍याे।

नतिजा सकरात्मक नै देखियो।

तर जार पाँचसात दिनमा रित्तो हुन थाल्यो।

शुभलाल फेरि घरपेटीकहाँ पुग्यो। “यसरी पानी खुवाउन त कसरी सकिन्छ र!” शुभलालले भन्यो।

घरपेटीले विषयको गाम्भीर्यतालाई मनन गर्‍याे र भन्यो- “पानीको जार राख तर मग नराखीकन समाजसेवा गर। अचेल सबै समाजसेवीहरु यसै गर्छन्।”

त्यही दिनदेखि शुभलाल समाजसेवाको नयाँ तरिकाबाट लाभान्वित हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *