जंगलमा बाख्रा चराउन गएका गोठालालाई बाघले खायो

बारा। बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले खाएको छ।
मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका-२१ अमलेखगंज बस्ने बीरबहादुर थिङको बाख्रा चराउन गएका स्थानीय चन्द्रबहादुर भुलनको बाघले खाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
बाख्रा चराउने कामदारको रुपमा काम गर्दै आएको ५५ वर्षका चन्द्रबहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घरमा नफर्किएपछि इलाका अम्लेखगञ्जसहितको टोली र स्थानीयले खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शरीर मृत फेला परेको र जम्मा २७ वटा जिउँदो बाख्रा मात्र फेला परेको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment