डा. रमिल अधिकारी ओसियानिया क्षेत्रका लागि पोखराको पर्यटन दूत नियुक्त
पोखरा। पोखरा महानगरपालिकाले डा. रमिल अधिकारीलाई ओसियानिया क्षेत्रका लागि पोखरा महानगरको पर्यटन दूतका रूपमा नियुक्त गरेको छ।
न्युजिल्याण्डस्थित नेपाली समुदायबीच सक्रिय र शैक्षिक तथा पेशागत क्षेत्रमा ख्यातिप्राप्त डा. अधिकारीलाई औपचारिक नियुक्तिपत्र प्रदान गर्दै महानगरले पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र आतिथ्य संस्कृतिको विश्वव्यापी प्रवद्र्धनमा योगदान हुने विश्वास व्यक्त गरेको छ।
पोखरा महानगर प्रमुख धनराज आचार्यद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा उल्लेख गरिएअनुसार, अधिकारीको नियुक्ति मानार्थ र स्वेच्छिक हुनेछ। उनलाई न्युजिल्याण्ड तथा ओसियानिया क्षेत्रका विभिन्न देशहरूमा पोखराको प्रतिनिधित्व गर्दै पर्यटन प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ।
पर्यटन दूतको भूमिकामा डा. अधिकारीले सार्वजनिक कार्यक्रम, शैक्षिक र सञ्चार माध्यमहरू तथा सामाजिक अभियानमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने, सम्बन्धित सरोकारवालाबीच सहकार्य निर्माण गर्ने र महानगरलाई उपयोगी सुझाव प्रदान गर्ने जिम्मेवारी पाउनेछन्।
पोखरा महानगरपालिकाले अधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै यो भूमिकामा उनको समर्पणले पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा अझ दृढ रूपमा चिनाउने विश्वास व्यक्त गरेको छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment