निबन्ध : जिन्दगी किताब, म त्यसको लेखक

मैले अक्षर चिन्नुअघि हातमा लिएको किताब मेरो प्यारो साथी थियो। अक्षर चिन्नुभन्दा किताबका चित्र हेर्नु मेरा लागि सबैथोक थियो। किताबका चित्र हेरेर म खुसीले रमाउँथें। चित्रका अनेक आकृतिहरू मेरा जीवनका सपना र विपना थिए। म किताबसँगै खेल्थें। किताबसँगै निदाउँथें। किताबसँगै बोल्थें।
मैले सोच्थें- ‘यदि किताब मेरो साथी हुन्थेन भने म कसरी रमाउँथें ? कोसँग खेल्थें, कोसँग बोल्थें ?’
कहिल्यै लेखक बन्ने सोचमा मेरो मन थिएन। तर, अहिले पछाडि फर्केर हेर्दा, लाग्छ- म जन्मिएको दिनदेखि नै एउटा किताब लेख्न थालेको थिएँ। त्यो किताब थियो– मेरो जिन्दगी। अनि त्यसको लेखक म आफैं। हुन त हामी प्रत्येकको जिन्दगी यौटा खुल्ला किताब हो। र, त्यसको लेखक हामी स्वयम् हौं।
हरेक वर्ष, हरेक दिन, मैले अक्षरको रूपमा अनुभवहरू टिप्दै गएँ। कतिपय अध्यायहरू आफैंले चाहेर लेखें, केही त लेख्नै पर्यो। कहिले परिस्थितिले कलम जबर्जस्ती सम्हालिदियो। तर, अधिकांश समय मैले मेरो मनले लेखें। मनले लेख्दा भोको पेटमा पनि अघाउँजी आनन्द र सन्तुष्टि मिल्छ। मैले आनन्द र सन्तुष्टिले आफूलाई शब्दहरूमा भेट्टाएँ।
चालीसको दशकमा सरल, निष्कलंक र सुन्दर मेरो रचना बालकार्यक्रम तथा बालदिवसका लागि लेखिएको बालरचना हो। त्यसपछिको मेरो लेखनले प्रकाशन र प्रसारणको प्रेरणादायी माध्यम पायो। मैले लेखें, खुबै लेखें।
तर पुस्तकको ढाँचाजस्तै जीवनको प्रवाह पनि स्थिर कहाँ रहन्छ र ! किशोरावस्थाका पानाहरू अलि गाढा र जटिल हुन्छन्। पहिलो प्रेमको रङ त्यहीँ छ। लाजले पोतेका अनुहारका पानाहरू। केही असफलता, केही अधुरा सपना, केही विद्रोह। यी सबै यथार्थका शब्द बनेर पानामा टिपिँदा, मलाई लेखक हुनुको पीडा थाहा भयो।
त्यसपछि आयो परिश्रम, संघर्ष र सत्रुसँग लडाइको समय। जिन्दगीको त्यो खण्ड लेख्न सजिलो थिएन। थाकेको हातले पाना पल्टाउनु, मन थामेर कथा अगाडि बढाउनु। त्यो पनि लेखन नै हो। मैले स्वाभिमानका अक्षरहरूमा रगत मिसाएर लेखें। किनकि त्यो मेरो अस्तित्वको मुद्दा थियो।
आज यी पंक्तिहरू लेखिरहँदा म जीवनको त्यो भागमा छु, जहाँ केही अध्यायहरू फेरि पढ्न मन लाग्छ, केही पाना च्यातिदिन मन लाग्छ। तर लेखिएको कुरा मेटिँदैन। पढ्ने शैली मात्र फेरिन्छ। आज म आफूलाई लेखकमात्र हैन, पाठक पनि ठान्छु। प्रथमतः म मेरो लेखनको म आफैँ पहिलो पाठक, पहिलो लेखक, पहिलो समीक्षक पनि हो।
कहिलेकाहीँ मलाई लाग्छ-यो किताब मैले मात्र लेखेको होइन, मभन्दा ठूलो कुनै शक्ति पनि छ जसले कहिले कलम तानिदिन्छ, कहिले नयाँ शीर्षक कोरिदिन्छ।
भावनाहरूको भेल बगाइदिन्छ। सिर्जनात्मक ऊर्जाको उरुङखात् खुराक उपलब्ध गराइदिन्छ। यति भएपछि लेख्नलाई के चाहियो र? भनेजति विषय, विचार, भावना र सोच-सामग्रीका पोकापुन्तुराका मरिकुच्चे भारी पाएपछि लेख्नु कुन कठिन काम हुने भयो र?
वास्तवमा म केवल माध्यम हुँ, अनुभूतिहरूको। तर मैले जे जति लेख्न सकेँ, त्यो सबै मैले बाँचेर लेखेँ। यसरी बाँचेर लेख्नु र लेखेर बाँच्नुमा धेरै फरक छ। मलाई थाहा छैन मैले लेखेर बाँच्नुपर्छ कि बाँचेर लेख्नुपर्छ ? लेखनमा लागेको तीन दशक लामो अथक यात्रामा म आधा शताब्दीमाथिको उमेरमा हिँडिरहेको छु।
अहिले मलाई लाग्न थालेको छ। जीवनको अन्त्य त मृत्यु हैन, तर त्यो अन्तिम वाक्य हो, जुन मलाई सोचेर लेख्नुपर्छ। जब त्यो पृष्ठ आइपुग्छ, म चाहन्छु- त्यहाँ लेखिएको होस् जीवनका यथार्थ भावनाहरू। लेखिएको होस् प्रकृति, समय र समाजका वास्तविक चित्रण अनुभूतिमय भावमा।
मलाई विश्वास छ- ‘मैले आजसम्म आफूलाई नढाटी लेखें। शब्दहरूको जंगलमा आफूलाई कतै नहराइ, कतै नलुकाइ लेखें। हरेक दिन लेखें, हरेक दिन बाँचेँ, हरेक दिन सोंचें र जीवनलाई चोखो शब्दजस्तै प्रेम गरें।’
म आफूले लेखेको अक्षरका अनुभूति र किताब कसैले पढ्ला, कसैले नपढ्ला। तर म आफूसँग आफैं सन्तुष्ट छु। किनभने म लेखक थिएँ, म पाठक थिएँ। अनि म नै त्यो कथाको पात्र पनि भएँ।
यसरी जीवन बाँच्नुको आनन्दमय धरातलमा आफ्नै अनुभूतिका अक्षरहरूमा अनुदित भएर हेर्छु। तिनलाई पढ्छु र आफूलाई हेर्छु। त्यहाँ म आफ्ना उल्लासमय व्यतीत दिनहरूलाई पाएर तिनै दिनहरूतिर फर्किन्छु।
कहिलेकाहीँ लाग्छ- जिन्दगी एउटा अजस्र शब्दहरूले भरिएको किताब हो, जुन दिनप्रतिदिन म आफैँले लेख्दैछु। लेखनको प्रक्रिया यति अद्भुत छ कि कहिले म आफैँलाई कथाकार ठान्छु, कहिले पात्र। कहिले म आफूलाई मात्र कथाको लेखक ठान्छु। तर, कतिपय दिन बिना जानकारी, कोही अदृश्य सम्पादकले पनि मेरो जीवनको अनुच्छेदहरूमा रेखा कोरेको महसुस हुन्छ।
मेरा जीवन-पृष्ठहरू रङ्गीन पनि छन्, रङविहीन पनि। कुनै पानाहरूमा बगैँचाका फूलहरू फक्रिएका छन्, कुनैमा आँसुका धाराहरू बगेर फैलिएका छन्। सुदूर कुनै पृष्ठमा बाल्यकालको मिठास भरिएको छ- हातमा झुत्रो कापीकिताब, मुखमा भोकको निन्याउरोपन र आँखामा सुन्दर सपना !
अर्को अध्यायमा म कसैको हात समाइरहेको छु, जो जीवनको पानामा केही समयको लागि मात्र पात्र बनेर आयो। फेरि अर्को अध्याय सुरु हुनासाथ हरायो- कुनै गुमनाम पात्रझैं।
म प्रत्येक दिन लेखिरहेको छु- कहिले सफलताको सुन्दर हरफहरू, कहिले उत्साहका पहेलीहरू। पछुतोका वाक्यांशहरूभन्दा मेरा लेखनमा ऊर्जामय भावनाका झंकार जागृत गर्छु। निराशाको अँध्यारोभन्दा आशाको उज्यालो दियालोमा म आफूलाई उभ्याउँछु। मनले कहिलेकाहीँ पुराना अध्यायहरू पल्टाउँछ। पढेर नमीठो सम्झनामा घोत्लिन्छ।
तथापि, अनुभूतिलाई शब्दमा बिउँझाउनु छ भने, अक्षरहरूमा जिन्दगीको स्पन्दन महसुस गर्नु छ भने, किताब लेख्नु छ भने पछाडिको पृष्ठ बन्द गर्नैपर्छ। नयाँ पाना पल्टाउनु छ। मेरो मान्यता छ-दुःखका दिनलाई सुखका दिन सम्झेर आनन्द महसुस गर्नु ठूलो कुरा हुन्छ।
लेखक हुँ म, तर कहिलेकाहीँ आफैं अचम्मित हुन्छु। शायद लेखक हुनु भनेको नियति पनि हो। त्यहाँ सोचभन्दा अगाडि अनुभूति दौडिन्छ। त्यस दौडाइमा शारीरिक तन्दुरुस्ती र सोच-सामग्रीहरूको खजाना जुट्छ।
यो किताब मेरो नयाँ सिर्जनाको थप संख्यामा दरिनका लागि होइन। कुनै प्रकाशकको लागि लेखिएको पनि होइन। कुनै पुरस्कारको लागि पनि होइन। वास्तवमा मेरो लेखन, मेरो सिर्जना, मेरो किताब म आफैँको लागि लेखिएको हो। त्यस किताबमा मेरो जीवन भोगाइको अभिलेख, मनको ऐना र अन्ततः स्मृतिको संगालो भएर ती मेरा अनुभूतिहरूको यौटा दस्तावेजका रूपमा रहने छन्।
जिन्दगीको खुल्ला किताबको अन्तिम पृष्ठ कुन बेला पल्टिने हो, थाहा छैन। तर जब पल्टिन्छ, त्यहाँ म सायद यस्तो वाक्य लेख्न चाहन्छु- ‘जिन्दगीको प्रत्येक हरफमा म बाँचें। मैले मेरो जिन्दगीलाई महसुस गरें। र, मैले मेरो प्यारो जीवनलाई माया गरें। मेरो जीवन यात्रामा कसैलाई दुखाएँ भने त्यो मेरो अञ्जानको भूल हो। कसैलाई खुसी पार्न सकेको भए त्यो मेरो जीवनको सफलता हो।’
जिन्दगी किताब, म त्यसको लेखक हुनुको नाताले किताबमा अभिव्यक्त भावनाप्रति म बफादार हुनुपर्छ। मेरो मान्यता छ- आफूलाई ढाँट्नु र अरूलाई दुखाउनु हुँदैन। त्यो दिन जब जीवनको किताब पाना बन्द हुनेछ, म चाहन्छु- कसैले त्यो किताब खोलोस्, केही पानाहरू पढोस् र भनी देओस्- ‘यो लेखकले मनबाट लेखेका थिए र जीवनलाई प्रेम गरेका थिए।’
Facebook Comment