मनले चिताएको इच्छा पुग्ने सुपादेउराली मन्दिर
समुद्री सतहदेखि करिब ४,५०० मिटरको उचाइमा सुपादेउराली देवीको मन्दिर अवस्थित रहेको छ। नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको धार्मिक पर्यटकीय स्थल अर्घाखाँचीको सुपादेउराली एक पवित्र धार्मिक स्थल हो। सदरमुकाम सन्धिखर्क पुग्नुभन्दा ३० किलोमिटर अगाडि नै यो मन्दिर अवस्थित रहेको छ।
महेन्द्र राजमार्ग अन्तर्गत गोरुसिङ्गेबाट झन्डै ४७ किलोमिटरको दूरीमा रहेको यो मन्दिर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शीतगंगा नगरपालिकाको दोसाँधमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मन्दिरमा भक्तजनहरू पूजा गर्न र भाकल गर्न आउने गरेका छन्।
अर्घाखाँची जिल्लाको मध्यभागमा यो देवीस्थल अवस्थित रहेको छ। सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित आस्थाकी प्रतीक मानिन्छिन्। नरपानी र फलामे दुई अग्ला महाभारतको बीचमा अधिक उचाइका भञ्ज्याङ्मा रहेको यो मन्दिर कहालीलाग्दो भीमकाय खोँचमा रहेको छ।
सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको मनमोहक दृश्य प्राकृतिक छाँगोले दर्शनार्थीहरूको ध्यान खिचिरहेको हुन्छ। दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रति सद्भाव बाँढ्ने गरिन्छ।
बाइसे , चौबिसे शाहवंशीय राजाहरूको पालामा निर्माण भएको यो मन्दिरमा २०४० सालदेखि नियमित पूजाअर्चना गर्न थालिएको हो। वि.सं. २०६० सालमा बाबा गुरुको नाममा चिनिने नरनारायणले करिब डेढ करोडको लगानीमा आधुनिक मन्दिर बनाएपछि भक्तजनहरुको आकर्षण थपिई आम्दानी करिब तेब्बर भएको पाइन्छ।
मन्दिर निर्माणमा प्राचीन विधिअनुसार निर्माण सामग्री प्रयोग गरिएको छ। वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्य देख्न सकिन्छ।
मन्दिरमा फागुन, चैत्त, वैशाख, जेष्ठ, असोज, कार्तिक र मङ्सिर महिनामा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेक अरु दिनमा भाकल गर्दा शुभ मानिन्छ। विशेष गरी शनिबार भाकल गर्नेहरूको भिड लाग्ने गर्दछ। जे भाकल माग्यो त्यो मनोकामना पूरा हुने जनविश्वास रहेको पाइन्छ।
सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्गबहादुर जन्मेको मथुरा बेँसी दरवार ( अर्घाखाँची ) ,न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घादरवार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक , ऐतिहासिक एवम् प्राकृतिक स्थलहरू अवलोकन गर्न पाउँछन् । श्रद्धालु भक्तजनहरुको घुँइचो सँगै नरपानी, शीतगङ्गा लगायतका अग्ला पहाड घुग्ने पर्यटकहरूको चाँप पनि बढेको पाइन्छ।
किंवदन्तीअनुसार मन्दिर परिसरमा भगवान रामकी, पत्नी सीताले बनाएको चुलो, जाँतो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेतायुगदेखि नै रहेको विश्वास गरिन्छ।
किंवदन्तीनुसार, बाइसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलरामपुरको राजकुमार बीच विवाह गरी घरतर्फ ल्याउँदै गर्दा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीका कानमा परेछ।
डोली बोकेर ल्याउदा हाल मन्दिर रहेको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पुन्याउदा रगतको थोपा डोलीबाट झरेछ । अनि सुपादेउराली रहेको स्थानमा आई डोलेहरुले डोली हेर्दा दुलही मृतावस्थामा भेटिएकी थिइन्।
उक्त घटनापछि खाँचीकोटमा विभिन्न रोगब्याधी महामारी फैलिएछ। पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पति भएको र एउटा कालो पाठी बलि दिनुपर्छ भनेपछि सोहीअनुसार गर्दा महामारी रोकिएको थियो भन्ने जनश्रुति रहेको पाइन्छ। त्यही समयदेखि हाल सम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा पनि गर्दै आएका छन्।
सुपादेउरालीको मन्दिर निर्माण वि. सं. १६०० सालमा खाँचीका राजा विश्वपाल शाहकी छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको किंवदन्ती पाइन्छ। मन्दिरमा सुपादेउराली देवी, लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायतका विभिन्न देवी देवताहरूको मूर्तिहरू रहेका छन्।
प्राचीनकालमा मनले चिताएको कुरा पुग्ने भएकाले एकजना लाहुरेले लाहुरमा सेनामा भर्ती भई टन्न सम्पत्ति कमाउन पाऊँ भनि देवी समक्ष सुनको सिक्री र काले पाठी चढाउछु भनि विन्ती बिसाएछन् । सोही अनुसार उनको मनोकामना पूरा भएछ।
लाहुरबाट बिदामा घर फर्कने क्रममा उनमा लोभ पैदा भएछ र देवीलाई भाकल गरेको भेटी चढाउनुपर्छ भनेर बाटो छलि अर्कै बाटो लागेछन्। त्यो कुरा देवीले थाहापाई लाहुरेलाई पहरोको भित्तामा टाँसी विलिन गराएको जनश्रुति पाइन्छ। हाल पनि लाहुरे टाँसिएको ठाउँ देख्न सकिन्छ र पहरोको तल लाहुरेको शालिक पनि निर्माण गरिएको छ। त्यसलाई लाहुरे भिर भनिन्छ। सुपादेउरालीबाट आधा मिटर तल झरेपछि सिडी मार्ग हुदै लाहुरे भिर पुग्न सकिन्छ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस पर्यटकीय स्थल पहाडको उच्च भागमा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७८ सालमा २७२.८५ मिटरको लामो झलुङ्गे पुलको निर्माण गरेको छ।
मन्दिरमा चढेको भेटीको ७५ प्रतिशत रकम विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च गरिएको छ। भेटीबाटै गरिबलाई आर्थिक सहयोग, छात्रावृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको छ। सीतापुर र खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका काममा सहयोग गरिएको छ।
धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय आस्थाकी धरोहर सुपादेउराली मन्दिर प्राकृतिक सौन्दर्यले मनमोहक रहेको छ। यहाँ जिल्ला भित्रका भन्दा जिल्ला बाहिरका भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ। नेपाल लगाएत भारतका विभिन्न ठाउँबाट तीर्थयात्रीहरु दैनिक हजारौंको सङ्ख्यामा आउने गर्दछन्। शक्तिस्वरुपा धार्मिक आस्था र विश्वासकी धरोहर सुपादेउराली माताले हामी सबैको कल्याण गरून्।
No ads found for this position


Facebook Comment