‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं। ऋषि लामिछानेको निर्देशनमा निर्माण गरिएको सिनेमा ‘माग्ने राजा’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार प्रज्ञा डबलीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा गरिएको हो।
यो सिनेमा आगामी भदौ ६ गतेबाट विश्वव्यापी प्रदर्शनमा ल्याउने जानकारी दिइएको छ। सिनेमाका सार्वजनिक दुई पोस्टर मध्ये एउटामा अभिनेता केदार घिमिरे (माग्ने बुढा) कुर्सीमा पैसासहित राजकिय अवतारमा प्रस्तुत गरिएको छ। अर्को पोस्टरमा सिनेमाका तीन मुख्य कलाकार केदार घिमिरे, वर्षा सिवाकोटी र विल्सन विक्रम राईलाई स्थान दिइएको छ।
यो सिनेमाबाट निर्देशक ऋषि लामिछाने ८ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन्। निर्देशक लामिछानेले ‘माग्ने राजा’ले अहिले अवस्थामा आफैलाई राजाको रुपमा प्रस्तुत गर्ने युवापुस्ताको कथा देखाउने बताए। यो सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे पनि ‘इच्छा’ रिलिजको लामो समयपछि निर्माणमा फर्केका हुन्। उनी हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन्।
निर्देश लामिछाने र निर्माता घिमिरेबीच यो तेस्रो पटक सहकार्य गरेका हुन्। उनीहरुले निर्माण सहकार्य गरेका दुई सिनेमा ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ र ‘श्रीमान्–श्रीमती’ बक्सअफिसमा सुपरहिट भएका थिए। निर्देशक लामिछाने आफुहरुको तेस्रो सहकार्य पनि सुपरहिट हुने दाबी सिनेमाको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा गरे।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मोडल पवित्रा साकी उर्फ मिस पबीको अभिनय छ। यो सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ।
आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बबुल गिरीको संगीत रहेको छ।
Facebook Comment