‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा
काठमाडौं। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ।
सोमबार सार्वजनिक टाइटल भिडियोमा यो सिनेमा आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो।
निर्देशक एकता पौडेलले टाइटल भिडियोको सुरुवातमा नै यो सिनेमा स्वर्गिय निर्देशक शिव रेग्मी मामाप्रति समर्पित रहेको उल्लेख गरेकी छन्। निर्देशक पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक गरेकी छन्। व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमाहरु समेत निर्माण गरिसकेकी छन्।
सम्पुर्ण छायांकन चितवनमा नै गरिएको सिनेमाको अहिले धमाधम पोष्ट प्रोडक्सनको काम भैरहेको छ। आफु र आफ्नो टिमले ‘हर्ष’ दर्शकलाई उत्कृष्ट सिनेमा दिने प्रयास रहेको बताउँछिन्। सिनेमामा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापितको अभिनय छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्। पारिवारिक सामाजिक कथा पस्किने सिनेमामा आलोक शुक्लाको छयांकन, समीर-हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ।
सिनेमाका निर्माता प्रशन्न पौडेल र विकास पौडेल तथा कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन्।
सिनेमामा स्वर्गिय शिव रेग्मी, डाक्टर कृष्णहरी बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना, इश्वर घिमिरे प्रोडक्सन म्यानेजर, कुलदीप अधिकारी मुख्य सहायक निर्देशक रहेका छन्। गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स बुढासुब्बा डिजिटलले किनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment