लघुकथा : स्वामीजीको प्रवचन

डिसी नेपाल
२१ असार २०८२ ७:२६

बाल सन्यासी स्वामी १००८ बत्तिसानन्दजी महाराज पूर्वीय दर्शनका ज्ञाता, वेदान्तका मर्मज्ञ, भागवत प्रवचनका कोकिल कण्ठका धनी र ईश्वरीय वक्ता मानिन्थे। उनको अनुशासन पनि निकै कडा थियो। लरतरो मान्छे उनको छेउमै पर्दैनथे।

धार्मिक सभामा सयौँ श्रोता थिए, महिलाको सङ्ख्या अधिक थियो। आत्मतŒव, जीवतŒव, एकेश्वर, द्वैत, अद्वैत, द्वैताद्वैत, आत्मा, परमात्माका जटिल भाष्यहरू उपस्थितहरूले बुझ्थे वा बुझ्दैनथे तर बेलाबेलामा स्वामीजीले भन्ने गरेका उदाहरणरूपी घरेलु कथाबाट भने रोमाञ्चित भइरहन्थे। स्वामीजी अग्लो आसनमा खुट्टा झारेर बसेका थिए। दर्शकले भुइँमा ओछ्याइएको चकटीमा सके पद्मासन नसके पनि पलेँटी कसेर बस्नु पर्दथ्यो।

गेरु वस्त्रमा आएका बाल सन्यासीले प्रवचन सुरु गरे ‘हरि ॐ नमः आज म नाशवान् मानव चोलालाई सांसारिक उल्झनबाट कसरी मुक्त गर्ने बारेमा प्रवचन दिन्छु ।’

दर्शक दीर्घामा सन्नाटा थियो। स्वामीले आफ्नो प्रवचन अगाडि बढाए ‘लोभ, मोह, काम, क्रोध, आशक्ति, माया यी सबै परमार्थका दुस्मन हुन्। यिनको नाश नगरिकन भगवत् भक्ति हुन सक्दैन, भगवत् प्राप्त हुन असम्भव छ।’

‘खास गरेर मान्छेमा भएको क्रोधतत्वलाई भगवान्को भक्ति साधनाबाट क्रमिक रूपले नाश गर्नु पर्दछ, यसको पूर्णरूपमा नाश नभइकन भगवत् प्राप्त हुन्न, यसका लागि सत्सङ्ग आवश्यक छ। गुरुको कृपा विना मान्छेले क्रोधमय संसारबाट उन्मुक्ति पाउन्न, यो कुरा शास्त्रमा भनिएको छ।’

दर्शक दीर्घामा पलेँटी कसेर बसेका बुद्घि विनोद भर्खरै सरकारी जागिरबाट अवकास प्राप्त उच्चपदस्थ कर्मचारी थिए। अवकास प्राप्त दिनहरू आध्यात्मिक सत्सङ्गमा लगाउँ भनी स्वामीजीको प्रवचन सुन्न धार्मिक सभामा आएका थिए। पलेँटी कसेर बस्ता बस्ता उनको खुट्टा कटकट खायो र उनले बसेकै चकटीबाट खुट्टा तानेर सोझ्याए।

स्वामीजीको नजर परिहाल्यो ‘एइ को हो त्यो खुट्टा तन्काउने ? बाहिर निकाल, यो रमाइलो गर्ने ठाउँ हो ? जसलाई जे मन लाग्छ गर्ने’ यसो भनिरहँदा स्वामीजीका आँखा क्रोधले राता भएका थिए, थसुल्ले शरीर थरथर कामिरहेको थियो।

ती नयाँ दर्शक भने बिना क्रोघ, मुक भावले एकनासले स्वामीलाई हेर्दै बाहिर निस्के।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *