एसिसी पुरुष यु-१६ को उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने
काठमाडौं। एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिंगापुरसँग खेल्ने भएको छ। उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुने छ।
नेपालले आज भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। यस्तै सिंगापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। हङकङले दिएको एक सय ६९ रनको लक्ष्य सिंगापुरले ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
नेपालले यसअघि समूह चरणको खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। समूह चरणमा नेपालले भुटानलाई दुई सय ९८ रनले तथा इन्डोनेसियालाई तीन सय ७० रनले पराजित गरेको थियो।
यसैगरी सिंगापुरले समूह चरणका खेलमा भुटानलाई दुई सय २६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो।
नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिंगापुर पनि सेमिफाइनलमा पुगेको हो। यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो। एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment