नेपालमा उर्जाको विकास र सम्भाव्यता : भाग १

कपिल लोहनी
२१ असार २०८२ ७:४०

नेपालमा जलविद्युतको विकासक्रम शुरु भएको ११५ वर्ष भइसकेको छ। तर यति लामो अवधिमा नेपालले यो क्षेत्रमा ज्यादै नगण्य प्रगति गरेको र निकै समयसम्म कछुवा कै गतिमा अघि बढेको थियो। पछिल्लो केही समयमा भने जलविद्युतको क्षेत्रमा नेपालले निकै ठूलो फड्को मार्न शुरु गरेको छ।

खासगरी वि.सं. २०४० को दशकमा सरकारले निजी क्षेत्रलाई पनि विद्युत आयोजना विकास गर्ने अनुमति दिनुका साथै निजी क्षेत्रसँग विद्युत प्राधिकरणले उसले उत्पादन गरेको विद्युत खरिद गर्ने सम्झौता (पावर पर्चेज एग्रिमेन्ट) गरेर उत्पादित विद्युतको खरिदको प्रत्याभूति दिए पछि निजी क्षेत्रले बैंक तथा शेयरधनीहरूसँगबाट लगानी रकम उठाएर विभिन्न साना तथा मझौला जलविद्युत केन्द्रहरूको निर्माण गर्न शुरु गरेका हुन्।

हाल मुलुकमा विद्युत उत्पादन गर्ने स्वदेशी र विदेशी धेरै कम्पनीहरू कार्यरत छन्। आज आएर करिव चार दशकको अनुभव पश्चात् निजी क्षेत्र र बाह्य लगानीसमेतले गर्दा मुलुकमा ठूला ठूला विद्युतीय आयोजनाको निर्माण हुन थालेको छ।

मुलुकभित्रको विद्युत खपतमा पनि बृद्धि हुँदै जानाले र विशेषतः भारतसँगको विभिन्न पटकको विद्युत खरिद सम्झौताको कारण जलस्रोत क्षेत्रले अघि बढ्ने ठूलो अवसर पाएको छ।

मुलकमा उत्पादित विद्युत मुलुकभित्रै खपत हुनाले एकातर्फ जनताको जीवनको गुणस्तर बढ्दै गएको छ भने अर्कोतर्फ उद्योग-धन्दाले पनि नियमित उर्जाको उपभोग गर्न पाएकोले उद्यमीहरू उत्साहित हुन पुगेका छन्।

तर विभिन्न बहानामा विद्युतको महसुल तिर्न ढिलो गर्ने र सधैं जरिवाना मिनाहा हुनु पर्ने माग गरि राख्ने ठूला उपभोक्तालाई भने उचित नियममा बाँधेर कतैबाट पनि हस्तक्षेप भएर त्यस्ता असुल उपर हुनु पर्ने रकमलाई रोक्न नसकिने दह्रो र दीर्घकालीन प्रणाली र कानुनको नै विकास गर्नु पर्ने भएको छ। विदेशमा विद्युत बिक्री गर्न हामीसँग ज्यादै सीमित विदेशी ग्राहक भएकाले यसमा आपसी समझदारी गरेर खरिद-बिक्री गर्ने बाहेक अन्य विकल्प छैन।

नेपालमा विजुली उत्पादन गरेर भारतमा बिक्री गर्ने सोचको विकास राणाशासनको अन्तको समयदेखि नै उब्जेको हो। त्यतिबेला नेपाल भ्रमणमा आएको अमेरिकी मिसनलेसमेत राणाशासकहरूसँग नेपालले भारतमा उर्जा निर्यात गर्न सक्ने सम्भावना रहेको बारे कुरा गरेको थियो।

पछि थुप्रै स्वदेशी तथा विदेशी विद्वान र संस्थाहरूले यो बारे कुरा उठाएका थिए। तर त्यतिबेला न नेपालले प्रचुर मात्रामा विद्युत उत्पादन गरेर भारतलाई बिक्री गर्ने परिकल्पना वा सिधा अर्थमा हिम्मत गरेको थियो, न नेपालभित्रै विद्युतको ठूलो खपत हुने अवस्था थियो। भन्नै पर्दा भारतमा पनि त्यतिबेलासम्म आफ्नै उत्पादनले धानेको थियो।

केही दशक अघिसम्म नेपालमा यातायातका साधनहरू निकै कम यानी केही हजार मात्र थिए भने हाल आएर यो संख्या बढेर लाखौंमा पुगेको छ। यानी सानो मुलुकमा यो संख्या अति नै बढी भएको हो।

त्यस्तै पहिले पहिले बत्ती बाल्ने र रेडियो-क्यासेट सुन्ने जस्ता सानातिना घरायसी प्रयोजनमा मात्र विद्युतको उपभोग हुने गरेकोमा हिजोआज घरघरमा एयरकण्डिशनर, फ्रिज, पंखा, कम्प्युटर, टेलिभिजन तथा अन्य विद्युतीय उपकरणहरू र विद्युतीय सवारी साधन चार्ज गर्ने जस्ता काम पनि हुने गरेको छ।

हाल नेपालले यातायात र अन्य प्रयोजनको निम्ति ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात गरिरहेको छ। विद्युतको विकाससँगै यस्तो आयात प्रतिस्थापन गर्ने गरी मुलुकभित्र विद्युत सहज ढंगले आपूर्ति गर्न सकेमा देशले ठूलो परिमाणमा विदेशी मुद्राको सञ्चिति गर्न सक्ने थियो।

नेपालमा हालै प्राकृतिक ग्यास भेटिएको, केही मात्रामा सौर्य उर्जा, वायो उर्जा तथा वायु उर्जाको पनि विकास हुँदै गएकोले उचित तवरले उर्जाको व्यवस्थापन गर्न सकेमा नेपालको भविश्य उज्ज्वल नै छ। यो बारेमा हामी आउँदा अंकमा विस्तृत कुराकानी गर्ने नै छौं।

जलविद्युतको विकासको अर्थशास्त्र निकै वृहत् हुन्छ। सबैभन्दा पहिलो कुरा त यो क्षेत्रको विकासको निम्ति ठूलो लगानीको आवश्यकता पर्दछ।

यो सँगै विद्युतको माग, आपूर्ति गर्ने प्रसारण लाइनको निर्माणमा लगानी, विद्युतको अधिकतम खपतका उपायहरू अवलम्बन गर्ने सोच, तरिका, विस्तृत वातावरणीय प्रभाव अध्ययन र कम्तीमा पनि ५०-६० वर्षसम्म विद्युत आयोजनाको निम्ति निरन्तर रूपमा आवश्यक पर्ने पानीको स्रोतको ग्यारेन्टी र आयोजना स्थलसम्मको प्रवेशमार्ग निर्माण आदि जस्ता धेरै अहम् विषयहरू पर्दछन्।

रिजर्भोयर प्रकृतिको आयोजनाको निम्ति बाँध बनाएर पानी जमाउनको लागि विशाल भूक्षेत्र खाली गराउनु पर्ने आवश्यकता, यसको निम्ति वृहत् पुनर्वास कार्यक्रम, नदीहरूबाट बालुवा र ढुंगा बगेर बाँध क्षेत्रमा जम्ने (सिल्टिङ) खतराको समाधानका उपाय आदि समेत अवलम्बन गर्न सक्नु पर्दछ।

यी सब कारणले गर्दा पनि नेपालको त्यतिबेलाको निकै सानो अर्थतन्त्र र प्राविधिक ज्ञान तथा विजुलीको निकै सानो बजारले गर्दा नेपालले वृहत् रूपमा विद्युतको विकास गर्ने आँट गर्न सकेको थिएन।

नेपालको त्यतिबेलाको माग र आर्थिक स्थितिलाई हेरेर दातृ राष्ट्रहरूले पनि लघु तथा साना जलविद्युत आयोजनामा जोड दिन सुझाएका थिए। यसो गर्नाले जहाँ विद्युतको बढी आवश्यकता छ, त्यहाँ सोही परिमाणको विद्युत आयोजना निर्माण गरि बिजुली उत्पादन गरेर वितरण गर्न सजिलो पर्दथ्यो।

ठूला आयोजनाको विद्युतलाई महँगा प्रसारण लाइनमार्फत कम जनसंख्या भएका र खासगरी पहाडी क्षेत्रमा फैलिएर रहेका घरमा पु¥याउन असहज र महँगो पनि पर्दछ। नेपालसँग सिमाना जोडिएका दुई वटै छिमेकी मुलुक भारत र चीन क्षेत्रफल र जनसंख्याको हिसाबले तथा अर्थतन्त्रको आकारको हिसाबले पनि ज्यादै विशाल छन्।

उनीहरूको विकासको वृद्धिदर पनि उच्च छ भने दुवै मुलुक ज्यादै शक्तिशाली र पुरै विश्वलाई प्रभाव पार्न सक्ने खालका छन्। उनीहरूको अर्थतन्त्रको बढ्दो आकारले गर्दा भारत र चीन दुवै राष्ट्रको उर्जाको माग बढ्दै गएको छ।

यी शक्ति राष्ट्रहरूले उत्पादन गरेको उर्जाले उनीहरूको अर्थतन्त्रलाई धान्न वा वृद्धि गर्न निकै कठीन पर्दछ। त्यसैले पनि यी दुवै राष्ट्रहरू नेपालमा उत्पादित जलविद्युत तथा अन्य वैकल्पिक उर्जाका बजार हुन्।

वि.सं. २०७० को शुरुदेखि भारतमा विद्युत बिक्री गर्न थालेको हो नेपालले। केही वर्ष अघिदेखि त भारतको इनर्जी एक्सचेन्ज मार्केटमार्फत बजार मूल्यमा हुने घटबढलाई समायोजन गर्दै व्यावसायिक रूपमा नै विद्युतको कारोवार गर्न शुरु भएको छ। सुख्खायाममा भने नेपालतर्फ पनि यही माध्यमबाट विद्युत आयात हुने गर्दछ।

बंगलादेशलाई विद्युत बिक्री गर्ने सोचको विकासपनि केही समय अघिदेखि भएको र हाल ४० मेगावाट बिजुली नेपालले बंगलादेशलाई बिक्री गर्न थालेको छ। अर्कै मुलुक भएर अन्य मुलुकमा विद्युत निर्यात गर्ने परिपाटीको विकासपनि विश्वमा नै नेपाल, भारत र बंगलादेशको उदाहरणीय आपसी सम्झौताले गरेको छ।

यसरी केही हदसम्म विद्युत व्यापारको थालनीसमेत भएकोले यो विषयलाई निकै अध्ययन र आपसी छलफल तथा समझदारीमार्फत् दीगो व्यावसायिक रूपमा चलिरहने बनाउनु जरुरी हुन्छ।

एक व्यावहारिक र उदाहरणीय आधिकारिक मापदण्डीय प्रकृयाको विकास तथा यसको पालना सबै सरोकारवाला पक्षबाट हुने प्रणालीको सिर्जनासमेत गर्नु पर्दछ।

यस्तै कुराहरूलाई टुंगो लगाउँदै जान त्रिदेशीय प्रसारण लाइन निर्माणको खाका बनाउने कामदेखि नेपाल र भारतबीच विद्युत आयात र निर्यातलाई सहज बनाउने बारे छलफल गरेर सहमतिमा पुग्ने हेतुले केही समयदेखि नेपाल र भारतका जलस्रोत अधिकारीहरूको छलफल नेपाल र भारतमा भइरहेको छ।

हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनमा विद्युत निर्यातको निम्ति पनि यस्तै मापदण्ड र प्रणालीको विकास गरेर आवश्यक प्रसारण लाइनकोसमेत निर्माण छिटो सम्पन्न गर्नु पर्ने हुन्छ। चीनसँग विद्युत व्यापार गर्ने हेतुले नै हाल उत्तरी प्रसारण लाइनको निर्माण पनि भइ नै रहेको छ।

नेपालसँग जोडिएका तथा पश्चिमी चीनका प्रान्तहरूमा चीनका विकसित क्षेत्रबाट विद्युत आपूर्ति गर्न महँगो र कठिन पर्ने भएकोले त्यस्ता क्षेत्रको निम्ति नेपालमा उत्पादित विद्युत आयात गर्दा चीनलाई सहज हुन जान्छ।

चीन आफैं पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको ठूलो उत्पादक र विद्युतीय उर्जा उत्पादनमा पनि अग्रणी मुलुक भए पनि उसको पश्चिमी क्षेत्रको मरुभूमिमा रहेका प्रदेशहरूमा सहज रूपमा उर्जा आपुर्ति गर्न हाल चीनले रुसबाट प्राकृतिक ग्यास आयात गर्न शुरु गरेको छ।

केही समय अघिसम्म भारतसँग विद्युत खरिद गर्नु पर्ने अवस्थामा हाल आएर क्रमिक रूपमा सुधार हुँदै गएको छ। यसो हुनुमा नेपालमा हाल प्रत्येक वर्ष नयाँ नयाँ आयोजनाहो निर्माण सम्पन्न भएर केही हदसम्म बिजुली छेलोखेलो हुने अवस्थाको थालनी हुनु नै प्रमुख कारण बनेको छ।

तर विभिन्न विकट क्षेत्रमा उत्पादित बिजुलीलाई ढुवानी गर्ने प्रसारण लाइन ठीक समयमा बन्न सकेनन् भने उत्पादित विद्युत खेर जाने अवस्था पनि आउन सक्दछ। हाल आएर सुख्खायाममा बाहेक भारतमा निरन्तर रूपमा विद्युत निर्यात गर्न सक्ने अवस्थाको सिर्जना हुन थालेको छ र आउँदा दिनमा उत्पादन हुने विद्युतको ठूलो अंश भारतमा निर्यात गर्ने लक्ष्य पनि नेपालले लिएको छ।

हाल नेपालमा ३,५०० मेगावाट विद्युत उत्पादन हुने गरेको छ, जसमध्ये एउटा निकै सानो अंश सौर्य उर्जाको पनि छ। तर नेपालको भौगोलिक वनोट र घाम र हावाको प्रकृतिलाई विचार गर्दा नेपालले सौर्य र वायु उर्जाको क्षेत्रमा पनि निकै विकास गर्न सक्ने देखिन्छ।

सौर्य उर्जाको व्यावसायिक उत्पादनमा पनि विगत केही वर्षदेखि नेपाल सफल हुँदै गएको छ। मुलुकका विभिन्न भागमा सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने आयोजनाहरू सञ्चालन हुँदै आएका छन्। तर वायु उर्जाको क्षेत्रमा भने सम्भाव्यता भएर पनि प्राविधिक कारणले गर्दा त्यति धेरै उल्लेखनीय प्रगति भइसकेको छैन।

आजसम्मको जलविद्युतको विकासले त मुलुकमा एक प्रकारको उत्साहदेखि उज्यालो समेत छाएको छ र मुलुकभित्रको स्थल यात्राको दौरान ठूला-साना प्रसारण लाइनहरू ठडिएको दृश्य देख्दा मनमा एक प्रकारको आनन्दको अनुभूति हुन्छ भने नेपालमा योभन्दा निकै दोव्वर बढी जलविद्युत आयोजनाहरूको विकास भएपछि नेपालीको मन कति प्रफुल्लित हुन्छ होला!

हुन पनि एक दशक अघिसम्म नेपाल चरम लोडसेडिङको चपेटाबाट गुज्रिरहेकोमा हाल आएर लोडसेडिङको अवस्था नगण्य हुँदै गएको छ। तर एकातर्फ एक दशकभित्र नेपालले अझ बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिएकोमा भर्खरै बामे सर्ने बेलाको विद्युत विकासमा नै सरकार र अन्य पक्षको राजनीतिक दाउपेच तथा भ्रष्ट आचरण हाबी हुँदै गएका खवरहरू पढ्दा र यो क्षेत्रका केही असल र जानकार व्यक्तिहरूलाई पाखा लगाएको र आर्थिक हिनामिनामा निकै अभिवृद्धि भएको देख्दा जनमानसमा निराशा पनि छाएको छ।

नेपाल जस्तो राजनीतिक र प्रशासनिक अराजकता भएको मुलुकले सुध्रिँदै जान सकेन भने कसरी यो अथाह विद्युतीय विकासको रसस्वादन गरेर मुलुकलाई समृद्ध बनाउन सकिएला खै!

क्रमश….

लेखक विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज नेपाल र समसामयिक गायक समाजका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *