लुम्बिनीमा बौद्ध भिक्षुको तीनमहिने धार्मिक साधना सुरु

डिसी नेपाल
२६ असार २०८२ २३:२७
24
Shares

लुम्बिनी। बिहीबारदेखि बौद्ध भिक्षुहरुको वार्षिक वर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ। असाढपूर्णिमादेखि तीन महिनासम्म चल्ने वर्षाबासको उद्घाटन लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा गरेका हुन्।

राजकीय बौद्ध विहार लुम्बिनीमा लुम्बिनी बौद्ध महिला समितिको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी होटल संघको सहकार्यमा यस वर्षको वर्षाबास कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रममा पूर्वमुख्यमन्त्री चौधरीले लुम्बिनीलाई विश्वशान्तिको मुहानका रूपमा स्थापित गर्न यस्ता धार्मिक अनुष्ठान प्रभावकारी भएको भन्दै बौद्ध परम्पराको संरक्षण, प्रवर्द्धन र लुम्बिनी क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाए।

राजकीय बुद्ध विहारका प्रमुख एवं बौद्ध भिक्षु सागर धम्मले वर्षाबास परम्पराको ऐतिहासिक महत्त्व, ध्यान र साधनाका अवसरका रूपमा यसको भूमिका र लुम्बिनीजस्तो पवित्रस्थलमा यसलाई निरन्तरता दिनु गौरवको विषय भएको बताए।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान, बौद्ध संघसंस्थाका प्रतिनिधिहरू, भिक्षु–भिक्षुणी तथा देश–विदेशका श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो। वर्षाबास बौद्ध भिक्षु–भिक्षुणीहरूले वर्षायामका तीन महिनासम्म एउटै विहार (गुम्बा) मा बसेर ध्यान, अध्ययन तथा बौद्ध चिन्तन–मनन गर्ने परम्परागत अभ्यास हो। भगवान् बुद्धले प्रतिपादन गरेको २२७ विनयमध्ये वर्षाबास पनि एक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *