लोप हुँदै साउने सङ्क्रान्तिमा लुतो फाल्ने संस्कृति

डिसी नेपाल
१ साउन २०८२ १२:३२
44
Shares

ढोरपाटन (बागलुङ) । यहाँका छन्त्याल तथा मगर समुदायले हरेक वर्ष साउने सङ्क्रान्ति भव्य रूपमा मनाउने गर्छन्। इष्टमित्र र चेलीबेटी जम्मा भएर दुःख सुख साट्ने पर्वका रूपमा साउने सङ्क्रान्तिलाई लिने गरिन्छ । तर पछिल्लो समय बिस्तारै लुतो फाल्ने संस्कृति हराउँदै गएको छ।

आधुनिक प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावसँगै पुराना संस्कृति लोप हुन थालेको बुढापाका बताउँछन्। बिहानदेखि साँझसम्म टाढिएका आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दुःखसुख साटासाट गर्ने र साँझ घरघरमा लुतो फाल्ने चलन कम भएको निसीखोला गाउँपालिका६ का ७८ वर्षीय तिलबहादुर बुढा मगरले बताए।

गाउँमा हाल पाँच/सात जना मात्रै पाका पुस्ता रहेकाले उहाँहरु रहँदासम्म मात्र परम्परा जिवित हुने अवस्था रहेको बुढा मगरको चिन्ता छ। हामीले चाडबाड भन्दा प्रविधिलाई बढी महत्व दिन थालेका छौँ, हाम्रो बाउबाजेदेखिको पुराना चलनहरु पहिलेको तुलनामा अभ्यासमा अहिले निकै घटेको छ, बुढा मगरले भने, लुतो फाल्दा किरा फट्याङ्ग्राले बालीनाली नष्ट गर्दैन, शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ।

साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि उक्त चलन हराएको तमानखोला गाउँपालिका३ का पूर्णबहादुर घर्ती मगरले बताए।

लुतो फाल्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ। यसरी लुतो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने जनविश्वास रहेको घर्ती मगरको भनाइ छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *