प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, सुस्ता अतिक्रमण र सुनसरी घटनाले तातियो प्रतिनिधिसभा

डिसी नेपाल
१९ साउन २०८३ १४:०४

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले सीमा अतिक्रमण, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, सुनसरीमा भएको साम्प्रदायिक तनाव र शान्ति सुरक्षाको विषयलाई लिएर सरकारको कडा आलोचना गरेका छन्।

नेपाली कांग्रेसका सांसद निश्कल राई, नेकपा (एमाले) का सांसद गुरुप्रसाद बराल, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहीर अलि भाटले संसद्मा बोल्दै आ-आफ्ना धारणा राखेका हुन्।

नेपाली कांग्रेसका सांसद निश्कल राईले जेठ अधिवेशनका क्रममा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए।

नेपालले भारतको भूमि मिचेको भन्ने आशयको उक्त अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै उनले सो भनाइ फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न र संसद्को अभिलेखबाट हटाउन माग गरे।

सुनसरी घटनापछि उत्पन्न तनाव समाधान गर्न समयमै गरिएको संवाद र संयमताको प्रशंसा गर्दै सांसद राईले १३ बुँदे सहमतिले केही गम्भीर प्रश्न उठाएकाले सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकका रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।

त्यस्तै, नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरी पुनः सीमा अतिक्रमण गरेको दाबी गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सुनसरी घटनामा समयमै शान्ति सुरक्षा कायम गर्न नसक्दा तीन जना युवाको ज्यान गएको उल्लेख गर्दै उनले घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए। सो घटनाको निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्न उनले माग गरे।

साथै, विराटनगरका एक उद्योगी परिवारमाथि अनुसन्धानका क्रममा बिहानै घेरा हालेर त्रास सिर्जना गरिएको भन्दै व्यावसायिक वातावरण बिग्रिएकोमा उनले चिन्ता व्यक्त गरे।

यसैबीच, श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग दोहोर्‍याउँदै जनप्रतिनिधिको निर्वाध आवतजावतको अधिकार सुनिश्चित गर्न माग गरे।

साउन ५ गते जनकपुर भ्रमणका क्रममा आफूहरूमाथि एक अज्ञात समूहबाट भएको कुटपिटबारे गृहमन्त्रीलाई जानकारी गराउँदा पनि कारबाही नभएको भन्दै उनले आपत्ति जनाए।

देशमा नेपाली सेनाबाहेक अन्य नाममा गठन भएका कथित ‘सेना’ समूहहरूलाई कानुनी रूपमा निषेध गर्नुपर्ने र बर्खामा कोशी ब्यारेजका कारण हुने डुबानको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

राप्रपाका सांसद ताहीर अलि भाटले सुनसरी घटनाका घाइते रवीन्द्रकुमार मेहताको उपचारका क्रममा निधन भएसँगै मृतकको सङ्ख्या चार पुगेको भन्दै दुःख व्यक्त गरे।

कुनै पनि धर्मले घृणा नसिकाउने उल्लेख गर्दै उनले ‘वसुधैव कुटुम्बकम्’ को मर्मअनुसार सामाजिक र धार्मिक सद्भाव कायम राख्न अपिल गरे।

परिस्थिति नियन्त्रणमा गृहमन्त्रीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले राप्रपाले उठाएको हिन्दू राष्ट्रको अवधारणा सबै धर्मप्रतिको सम्मान र सर्वधर्म सद्भावमा आधारित रहेको प्रस्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *