महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल श्रीलंकाविरुद्धको खेलमा विजयी भएको छ।
बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स इरिनाको अभ्यास मैदानमा आज भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलअन्तरले पराजित गरेको हो। यसअघि पनि पहिलो खेलमा नेपालले श्रीलंकालाई समान ७–० गोल अन्तरले नै हराएको थियो। योसँगै नेपालले चार खेलबाट ९ अंक जोडेको छ। चार खेल खेलेको श्रीलंका भने अंकविहीन छ।
श्रीलंकाविरुद्धको खेलमा आज पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो। नेपालका लागि कुसुम खतिवडा र समीक्षा मगरले समान दुई÷दुई गोल गरे। पूर्णिमा राई, बिर्सना चौधरी र सरिता नाथले समान एक एक गोल गरे।
खेलको १६औँ मिनेटमा पूर्णिमाले हेडरमार्फत गोल गरिन्। त्यस्तै खेलको ३५औँ मिनेटमा कुशुमले नेपालको अग्रता दोब्बर बनाइन्। खेलको ४२औँ मिनेटमा सरिताले तेस्रो गोल गरिन्। खेलको ४५औँ मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो तथा नेपालका लागि चौथो गोल गरिन्।
मध्यान्तरपछि खेलको ६६औँ मिनेटमा बिर्सिनाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाइन्। खेलको ७४औँ मिनेटमा समीक्षाले गोल गरिन्। खेलको ७८औँ मिनेटमा समीक्षाले नै व्यक्तिगत दोस्रो गोल गर्दै ७–० गोलअन्तरले विजयी दिलाइन्।
नेपालले अब शनिबार भुटानसँग खेल्नेछ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment