एमाले विधान महाधिवेशन शुक्रबारदेखि, सम्पूर्ण तयारी पूरा

डिसी नेपाल
१९ भदौ २०८२ १०:०८
20
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेनशनको उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सम्पन्न हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्ने छन्। प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन्।

प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *