नैतिक दाग लागेर एउटा पद छाडेका रामहरि खतिवडालाई उस्तै अर्को पद दिने कांग्रेसको निर्णय
काठमाडौं। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थामा अनर्थ लाग्ने शब्दावली प्रयोग भएपछि नैतिक दागका कारण प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडालाई उस्तै प्रकृतिको अर्को समितिको सभापति बनाइने भएको छ।
नेपाली कांग्रेसले भोलि हुने संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचनमा खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको भागबण्डामा यो समितिको सभापति कांग्रेसको भागमा परेको हुनाले निर्वाचनमा खतिवडालाई एमालेलगायत सत्ता साझेदार दलका सांसदहरूले मतदान गर्ने अपेक्षित छ ।
डिसीनेपालसँगको संक्षिप्त कुराकानीमा खतिवडाले आफूले पनि पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी पाएको बताए । उनले पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्ने समेत बताए ।
खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाउने उद्देशयसहित नै केही दिन अघि मात्र उनलाई समितिको सदस्य बनाइएको थियो । १३ भदौमा बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले खतिवडालाई सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको जानकारी गराएका थिए ।
खतिवडाले राजीनामा दिएपछि रिक्त भएको राज्य व्यवस्था समितिको सभापतिमा इश्वरी न्यौपाने निर्वाचित भइसकेकी छिन्। न्यौपाने पहिले संसदीय सुनुवाइ समितिको सभापति थिइन्। उनलाई राजीनामा दिन लगाएर राज्य व्यवस्था समितिमा लगिएको थियो। भदौ १० गते न्यौपानेले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति पद रिक्त छ।
प्रतिनिधि सभा नियमावलीअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गर्नुपर्छ। यसअनुसार भोलि समितिको सभापतिको लागि निर्वाचन हुनेछ र पूर्वसहमतिअनुसार खतिवडालाई सभापति निर्वाचित गरिनेछ।







डिसी नेपाल







Facebook Comment