जीएसआईलाई लिएर भ्रम सृजना गर्ने काम भएको भन्दै सांसद ढकालको आपत्ति
काठमाडौं। नेपाल परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण गरेर फर्किन नपाउँदै ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई लिएर भ्रम सृजना गर्ने कोशिश भएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा कुशल र साहसी कुटनीति प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री स्वदेश फर्किन नपाउँदै जीएसआईलाई लिएर भ्रम सृजना गर्न खोज्नु उचित भएको बताएका हुन्।
उनले नेपाल कुनैपनि सैन्य गठबन्धनमा संलग्न नहुने घोषित नीति नै रहेको उल्लेख गर्दै वर्तमान अबस्थमा जीएसआईमा संलग्न हुने प्रश्नै नउड्ने दाबी गरे। नेपालका लागि, शांघाइ सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागिता जनाउनु, क्षेत्रीय सहकार्यमा सक्रिय रूपले संलग्न हुनु, बहुपक्षीय कूटनीतिलाई समर्थन गर्नु र चीनसँगको सम्बन्धलाई सुदृढ गर्नु भएको उनको भनाइ थियाे।
‘एससिओ शिखर सम्मेलनकै कारण प्रधानमन्त्रीले ‘लिपुलेक नेपालकै भुमि हो, भनेर चीनका राष्ट्रपतिसँग स्पष्ट कुरा राख्ने अवसर प्राप्त भयो , यो कुटनैतिक उपलब्धि हो,’ सांसद ढकालले भने, ‘तसर्थ प्रधानमन्त्रीको चीन भ्रमणका क्रमममा भएका भेट वार्ता तथा विभिन्न कार्यक्रममा सहभागिता नेपालको असंलग्न विदेश नीति अनुसारनै छ। बरु यो भ्रमणले हाम्रो असंलग्न परराष्ट्र नीतिमा गतिशीलता थप्दै रूपान्तरणकारी अन्तर्राष्ट्रिय सम्बन्धको विकास गरेको छ। बेइजिङ र तियानजिनमा प्रधानमन्त्री ओलीले बिताएका दिनहरु नेपालको परराष्ट्र मामिलामा दूरगामी कुटनीतिक अर्थ राख्न सक्छन्। प्रधानमन्त्रीलार्इ सिंगो सदनले धन्यवाद ज्ञापन गर्नुपर्छ।’







डिसी नेपाल







Facebook Comment