कविता : मृत्यु यात्रा र उत्तरविहीन प्रश्नहरु

सुशील लामा
१ असोज २०८२ ११:५७
36
Shares

अन्तिम यात्रा
आँशुको भेलमा डुबेको
सन्नाटा छाएको शहर
कलेजो फाटेको आमाहरु सँगै
आँशु रित्तेको नयन पोखरीको डिलमा बसी
सनाखत हुन बाँकी रहेको सपनाहरू
केही दिनको
मुर्दा घरको बसाइ पछि
जिउँदो हरुको काँधमा बसी
गर्दै थियो यात्रा…
चिहान सम्मको!

कुन्नि के-के परिवर्तन निम्ति भनेर लड्यो
लडेको ठाउँमा पोखेको रगत
सुक्न नपाउँदै
रगत पोखाउनेहरु
हुँकार दिँदै
बदलाको भाव सार्वजनिक गर्दैछ।

हे मृत्यु-
तिमीले यो क्रान्तिको नाउँमा
कस-कसलाई लिएर गयौ?
उही निरही जनता!
उही सोझा-सिधा बा-आमाको साथ
देखिन त मैले त
देश बिगार्ने
देश डुबाउने
देश लुट्ने
हरुमाथि तिमीले गरेको सजाय!

को मरे
देश अपहरण गरेर
बाउको बिर्ता बनाएकाहरुका छोराछोरी मारे
मरेन-
कसकाे जले?
तेरो मेरो करले बनाएको भौतिक संरचना जले
ती नेताको आफ्नै त
एउटा भुत्लापनि जलेन।

वा!
नियति माने तिमीलाई
तिम्रो कायदलाई
तिम्रो बहादुरीलाई
आखिर घोच्ने र पिर्ने भनेको त
उही-
गरिबीको दलदलमा फसेका
निरही जनता न रहेछ!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *