नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारीघर भित्र्याइयो
काठमाडौं। नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक कुमारीघरमा आसन गराइएको छ।
आज यहाँ आयोजित एक विशेष समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो।
विशेषगरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ। इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइएको छ।
कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार इन्द्रजात्रा, नवरात्रीलगायत तोकिएका परम्परागत संस्कृतिमा कुमारीले सहभागिता जनाउने तथा सर्वसाधारणलाई तोकिएको समयमा दर्शन दिने कार्यसूची हुन्छ।
वसन्तपुरस्थित कुमारीघरमा नियमानुसार कुमारीलाई आवश्यक सेवा तथा खानपान, आवासको प्रबन्ध गरिने प्रचलन छ। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ।
कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो। यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाई गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment