बाजुरामा बालीनाली भित्र्याउन भ्याइनभ्याइ, किसानलाई चाडबाड भन्दा काम प्यारो

डिसी नेपाल
१६ असोज २०८२ ७:५३
16
Shares

बाजुरा। बाजुराका किसान यतिवेला धानबाली भित्र्याउनमा व्यस्त रहेका छन्। यहाँका किसानलाई दशैँभन्दा कामको चटारो बढेको हो। असारको महिना लगाएको धानबाली यतिवेला धमाधम काट्ने,चुट्ने काम चलिरहेको छ।

यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन्। किसानलाई दसैं भन्दा पनि काम प्यारो बनेको हो। हरेक बर्ष दसैं भन्दा अन्नवाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यतिवेला पनि बालीनालीमै व्यस्त छन्।

यहाँको त्रिवेणी,बुढिगङ्गा,खप्तड छेडेदह,गौमुल,बडीमालिका,बुढिनन्दा,स्वामाकार्तिक,हिमाली जगन्नाथका किसानलाई यतिवेला धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने कामको भ्याईनभ्याई छ। गाउँगाउँका खेतबारीमा निकै चहलपहल छाएको छ भने यहाँका मानिस बिहानै राति अवेरसम्म खेतमै कामकाजमा जुटेका देखिन्छन्।

यतिवेला दसैं तिहार भन्दा पनि काम प्यारो बनेको बडीमालिका नगरपालिका वडा नम्वर ७ का स्थानीय शुभराज तिमिल्सेनाले बताए। खेतमा पाकेको धानबाली,कोदो, लगायत झुमरो, चिनो र फापर काट्ने, सुकाउने काम दैनिकी बनेको तिमिल्सेनाले बताएका छन्।

अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगे पछि राती अवेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ। मौसम बिग्रिएपछि वर्षभरको मेहनत खेर जाने हुँदा समयमै किसानहरु बाली भित्र्याउने काममा लाग्ने गरेको बताए।

बारीमा झुरीमुरी पाकेको धान भित्र्याउन किसानलाई चटारो छ। ९ वटै स्थानीय तहका हरेक गाउँबस्तीका खेतबारीमा,महिला,पुरूष,बालबालीका बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका छन्। महिलाहरुलाई धान काट्न चटारो छ भने पुरुषलाई काटेको धानलाई चुटेर घरमा भित्र्याउने चटारो छ।

जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ। त्यस्तै कुल खेति गरिएको जमिन २६१६ हेक्टर छ। कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए।

बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०८१÷०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यस बर्ष पनि राम्रो धान उत्पादन हुने अपेक्षा लगिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

पछिल्लो समय बाजुरामा पनि उन्नत जातका धान लगाउने प्रचलन बढेको छ। विशेषगरी रामधान,जुम्ली, सावित्री, हिमाली धान,खुमल जस्ता उन्नत धान लगाउने गरिन्छ। कृषि ज्ञान केन्द्रले उन्नत जातप्रति किसानको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धान लोप हुनसक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै रैथाने बाली तथा बीउ संरक्षणका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *