निर्वाचनको तयारीमा जुट्न आह्वान

डिसी नेपाल
२७ असोज २०८२ २३:१४
12
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर नयाँ मतदाताहरुको नाम दर्ता प्रक्रियामा सहभागी हुन पार्टी जनवर्गीय संगठनका सबै कमिटीहरुलाई निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरुको नाम दर्ता अघि बढाइरहेकाले सो काममा सक्रिय रुपमा लाग्न तथा नयाँ मतदातालाई सहजीकरण गर्न निर्देशन दिएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले वर्तमान संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा एवं निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र, संविधान पक्षधर शक्ति र पार्टीहरुबीच संवाद, सहकार्य अघि बढाउने निर्णय गरेको हो।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेता ज्वालाले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टीहरुसँग चलिरहेको एकतासम्बन्धी वार्ता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन पार्टीद्वारा गठित वार्ता समितिलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको जानकारी दिए।

प्रतिनिधिसभाको निर्वाचन घोषित मितिमा, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्दै बैठकले निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ।

पार्टी स्थायी कमिटीको बैठक यही असोज २९ गते र केन्द्रीय कमिटीको भर्चुअल बैठक यही असोज ३१ गते बस्ने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *