देउवाले पूर्णबहादुरलाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी

डिसी नेपाल
२८ असोज २०८२ १४:३४
532
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका हुन्।

देउवा यससँगै उपचारका लागि सिंगापुर जाने भएका छन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती थप उपचारको लागि सिंगापुरमा जाने तयारी गरेका छन्।

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए लगत्तै आजको बैठक स्थगित गरी बिहीबार १ बजेका लागि बोलाइएको छ।

आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएको बताएका थिए।

‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ, देउवाले भनेका थिए। उनले आजको बैठकमा संक्षीप्त धारणा राखेका थिए।

उनले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण बनि नसकेको बताएका थिए। मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएकाले चुनावका लागि भयरहित वातावरण बनि नसकेको उनको भनाइ थियो।

‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन। निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्,’ उनले भने।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *