जेन-जी आन्दोलनपछि रक्षात्मक बनेका ओली फेरि मैदानमा

डिसी नेपाल
३० असोज २०८२ ९:४१
184
Shares

काठमाडौं। भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि दुई तिहाइ बहुमतको सत्ता गुमाएका ओली झण्डै दुई हप्ता नेपाली सेनाको सुरक्षामा बसे। त्यसपछि असोज सात गते ओली भक्तपुरको गुण्डुमा सार्वजनिक भएका थिए। जेनजी आन्दोलनका क्रममा ओलीको भक्तपुरस्थित बालकोट निवास पूर्णरुपमा ध्वस्त भएको छ।

आफ्नो निवास ध्वस्त भएपछि ओली यतिबेला भाडाको घरमा गुण्डुमा बस्दै आएका छन्। सार्वजनिक भएको केही समयसम्म ओलीले आफ्ना सम्पूर्ण गतिविधि गुण्डुमै गरेका थिए। उनी रक्षात्मक अवस्थामा थिए। पार्टीभित्र उनको व्यापक आलोचना भएको थियो भने पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग बढ्दो थियो।

यसबीचमा बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटीको १० औं बैठकमा ओली पुरानै रवाफमा प्रस्तुत भए। उनले राजीनामा माग्नेलाई आफैंले प्रस्ताव गरेको ११ औं महाधिवेशनमा भेट्न चुनौती दिए। उनले मंसिर २७-२९ सम्म पोखरामा ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

ओलीले बहुमत सदस्य आफ्नो पक्षमा रहेको केन्द्रीय कमिटीले भनेमा एकमिनेट पनि अध्यक्ष पदमा नबस्ने बताए। उनले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन? भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एकमिनेट पनि बस्दिनँ, यो कमिटीभन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन।’

अर्थात ओलीले अध्यक्षबाट राजीनामा नदिने स्पष्ट शब्दमा भने। ‘यो देशको इच्छाको पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ, यी कुराहरूमा सबै स्पष्ट हुनुस्। हट्ने आफ्नै प्रक्रिया हुन्छ। विरोधीहरूले घर र पार्टी कार्यालय विरोधीले आगो लगाएका हुन्। हामीले कुनै नराम्रो व्यवहार गरेका छैनौँ। हामीसँग भिजन छ, काम गर्ने सक्रियता छ।’, उनले भने।

बैठकमा बोल्ने नेताहरू खुलेर ओलीको यस कदमको विरोधमा उत्रन नसकेको फाइदा उठाउँदै ओलीले देशभरका एमाले कार्यकर्ताको भावनाविपरीत नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई निरर्थक बनाउन खोजेको भन्दै एमालेका कार्यकर्तामा तीव्र असन्तुष्टि छ।

यस असन्तुष्टिलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीमा उपस्थित ओलीले पुरानै शैलीमा प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा आफूले कहिल्यै गल्ती नगरेको जिकिर गरे। आफू कहिल्यै नबिग्रिएका कारण सप्रिनुपर्ने निरर्थक बहसमा नलाग्न उनले नेतामार्फत कार्यकर्ता र जनतालाई सन्देशसमेत दिएका छन्।

जेन-जी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। एमालेसहित प्रमुख दलमा नेतृत्व हस्तान्तरणको बसह जारी रहेका बेला बसिरहेको केन्द्रीय कमिटी बैठकमा नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाव दिएका छन्।

ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनको छलफलमा सहभागी नेताहरूले नेतृत्व हस्तान्तरणको सुझाव दिएका छन्। तर, ओलीले तत्कालै नेतृत्व छोड्न नसक्ने भन्दै विभिन्न दाबी पेस गरेका छन्। यसले एमालेमा निरर्थक नेतृत्व हस्तान्तरणको बहस भन्दै आलोचना भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *