मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक

डिसी नेपाल
३० असोज २०८२ १०:३१
40
Shares

काठमाडौं। भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको बहुप्रतिक्षित फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थिम क्यारेक्टर पोस्टर रिलिज गरेको हो।

दक्षिण भारतीय केही निर्माताको सहकार्यमा नेपालमै निर्माण हुन लागेको यो फिल्मलाई अपेक्षित प्रोजेक्टका रूपमा लिइएको छ। हिन्दी र नेपाली दुबै भाषामा निर्माण हुने यस फिल्ममा साङ्गीतिक पक्ष पनि दुबै भाषामा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेशनल स्टुडियोजको संयुक्त ब्यानरमा बन्ने यो फिल्म नेपालमै महँगो बजेटमा निर्माण हुने बताइएको छ। हाल फिल्म प्री–प्रोडक्सनको चरणमा रहेको र २०२६ मा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जानकारी दिएको छ।

फिल्मको लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन्। हाल फिल्मका प्राविधिक कार्यहरू तीव्र गतिमा अगाडि बढिरहेको जनाइएको छ।
अक्स इन्टरनेशनल स्टुडियोजका अनुसार, भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली यस प्रोजेक्टमा संलग्न हुनेछन्। यसअघि ठूला–ठूला अन्तर्राष्ट्रिय फिल्ममा काम गरिसकेका प्राविधिक समूहहरू संलग्न हुने भएकाले फिल्मको प्राविधिक पक्ष बलियो रहने अपेक्षा गरिएको छ।

प्री–प्रोडक्सनसँगै कलाकार छनोट (कास्टिङ) प्रक्रिया पनि अगाडि बढिरहेको छ। कथा, शैली र भिजुअलमा नवीनपन ल्याउने उद्देश्यसहित निर्माण हुन लागेको यो फिल्म २०२५ को अन्त्यतिर फ्लोरमा जाने तयारीमा छ।

सार्वजनिक गरिएको थिम क्यारेक्टर पोस्टरले फिल्मका मुख्य भूमिकाहरूलाई चित्रण गरेको छ। पोस्टरबाटै फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत मिलेको छ।
निर्माण पक्षका अनुसार, ‘मोना लिसा (ब्लडी लभ)’ले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषय प्रस्तुत गर्नेछ।

यसै फिल्ममार्फत नेपाली फिल्म उद्योगले अन्तर्राष्ट्रियस्तरमा नयाँ सम्भावना देखाउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *