एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

डिसी नेपाल
३० असोज २०८२ १५:३८
16
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो ।

आज ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा र सुझाव राखिसक्नुभएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । उनले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्नुहुने जानकारी दिए।

पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, पार्टीमा सुशासनका पक्षमा धारणा राखिरहेका छन्। बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यले भोलि धारणा राख्नेछन्। बैठक अहिले पनि जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *