स्वास्थ्यमन्त्री पाठक सुटुक्क फार्मेसीमा पुगेपछि…

डिसी नेपाल
१ कार्तिक २०८२ १६:५३
3.6k
Shares

गलकोट (बागलुङ) । बागलुङको धौलागिरि प्रादेशिक अस्पतालमा बिरामीले औषधि नपाएको गुनासोपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक आज फार्मेसीमा पुगे।

बिहीबार अस्पताल फार्मेसीमा पुगेका स्वास्थ्य बिमामा आबद्ध अधिकांश बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, उच्च रक्तचाप, सुगर र मुटुलगायतका बिरामीले औषधि नपाएको गुनासो समाचारसमेत सार्वजनिक भएको थियो। उनी आज पोखराबाट अस्पताल प्रशासनलाई थाहै नदिइ अनुगमनमा आएका हुन्।

सुटुक्क फार्मेसीमा पुग्नुभएका पाठकलाई फार्मेसीका कर्मचारीले सुरुमा चिन्न सकेनन्। मन्त्री पाठकले प्रदेश सरकारले औषधि खरिदका लागि पैसा पठाइसकेकाले किन औषधि खरिद नगरेको भन्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र फामेर्सी इञ्चार्जलाई प्रश्न गरे।

अस्पतालका स्वास्थ्यकर्मी र फार्मेसीको बाहिर आफ्नो निजी पसल भएकाले अस्पतालमा औषधि अभाव बनाइराख्ने गरेको बिरामीको गुनासोपछि मन्त्री पाठकले निजी फार्मेसी र प्रायोगशाला रोज्ने कि अस्पताल रोज्ने भन्दै स्वास्थ्यकर्मीलाई प्रश्न गरेका थिए।

उनीसँगै बिरामीले प्रयोगशाला र फार्मेसीमा काम गर्ने अधिकांश कर्मचारीको अस्पताल बाहिर आफ्नै फार्मेसी र प्रयोगशाला रहेकाले मिलेमतोमा समस्या सिर्जना गरिएको गुनासो गरे।

स्वास्थ्यमन्त्री पाठकले अस्पतालमा काम गरेर बाहिर प्रयोगशाला र फार्मेसी चलाउनेलाई कारबाही गर्ने भन्दै तुरुन्तै औषधिको आपूर्ति व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिए। पाठकले स्वास्थ्य मन्त्रालयले तत्कालै दोहोरो फाइदा लिने कर्मचारीलाई अस्पताल वा निजी फार्मेसी रोज्न निर्देशन दिएका छन्।

‘अस्पतालमा जागिर गर्ने तर निजी स्वार्थका लागि बिरामीलाई औषधि नदिएर बाहिर पठाउने कुरा गलत छ। प्रदेशले औषधि खरिदका लागि पठाएको रकमले छिटो औषधि खरिद गरौँ। मन्त्रालयले दुईतिर काम गर्ने कर्मचारीलाई कारबाही गर्न तत्कालै परिपत्र पठाउछ‘, मन्त्री पाठकले अनुगमनपश्चात् भने। अस्पतालले समयमै औषधि नल्याउँदा बिरामी महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *