भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा दाहाल
काठमाडौं। सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन भएका छन्। समूहको आज यहाँ सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो।
विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताए। उनले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गरे।
सभामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए।
समूहका प्रतिनिधिहरूले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान सुरु गरेको जनाएका छन्।







डिसी नेपाल







Facebook Comment