राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो
काठमाडौं। राष्ट्रिय जेनजी पार्टी नेपालले आज आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो।
निर्वाचन आयोगले दलको नाम र चिन्हमा पुनर्विचार गर्न सुझाव दिएको छ। आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले नाम र चिन्हमा सुधार गर्न सुझाएका छन्। पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ।
दलको संघीय कार्यालय अनामनगरमा रहेको छ। विधानअनुसार पदाधिकारीले अधिकतम दुई कार्यकाल मात्रै गर्न पाउने र सबै तहमा ६५ वर्ष उमेर हद तोकिएको छ। पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ।
राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन्।
दलको अध्यक्षमा ३२ वर्षीय किरण बिक चयन भएका छन्। बुटवलका निवासी बिक जेनजी आन्दोलनका सक्रिय अभियन्ता हुन्। उनी फिल्ममेकिङ र कानुनमा स्नातक तथा अर्बन प्लानिङमा स्नातकोत्तर गरेका छन्।
पार्टीले एजेन्डा मिल्ने दल र समूहसँग सहकार्यको ढोका खुला राखेको जनाएको छ। निर्वाचन आयोगले आवश्यक कागजातसहित कार्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ।
राष्ट्रिय जेनजी पार्टी नेपालले सम्पूर्ण जेनजी आन्दोलनका सहभागी, नागरिक र राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment