पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउँछः उपमहासचिव ज्ञवाली
नवलपरासी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुनःस्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन्।
यहाँको सुनवलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुनःस्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए।
उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि संसद् पुनःस्थापना आवश्यक रहेको जिकिर गरे। उनले चुनाव गराउन प्रदर्शनका क्रममा लुटिएका सुरक्षाकर्मीका हतियार र पाँच हजारभन्दा बढी कैदी अझै बाहिरै रहेकाले चुनावका लागि सुरक्षा चुनौती रहेको धारणा राखे।
‘फेरि पनि समझदारीका साथ अगाडि बढ्न सकिन्छ। भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिन, जेनजी प्रतिनिधिसँग बसेर वार्ताका माध्यमबाट न्यूनतम विषयमा समझदारीपछि संसद् पुनःस्थापनासहित निर्वाचित जनप्रतिनिधिबाट सहमतिमा चुनाव गरेर अगाडि बढ्न सकिन्छ’, उपमहासचिव ज्ञवालीले भने। उनले पार्टीको महाधिवेशन तोकिसकेकाले अब नेतृत्वको विषयमा महाधिवेशनले नै टुंगो लगाउने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment