अछाममा भएको आगलागी पीडितलाई प्रदेश सरकारले ८ लाख सहयोग गर्ने
धनगढी । अछामको साँफेबगर नगरपालिका-३ हाटबजारमा शनिबार राति भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागी पीडितका लागि तत्काल साँफेबगरमा नगरपालिकालाई तत्काल ८ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई ८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए। उनले भने, ‘शनिबार राति साँफेबगरमा बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ८ लाख रुपैयाँ पालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको छ। सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम आगलागी पीडितलाई वितरण गर्ने छ।‘
यस्तै बैठकले २०८२ साल भाद्र महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं १ स्थित टिङ्कर र छाङरु क्षेत्रमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त भएका पुलहरूको तत्काल पुननिर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने र कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका, बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधरा चाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने मानवीय क्षति, मानव बस्तीमा आक्रमण र खेतबारीमा हुने बालीनाली नोक्सानी न्यूनीकरण गर्नका लागि रोकथाम उपायहरु अवलम्बन गर्न र टर्चलाइट र लगायतका सुरक्षा उपकरण स्थानीयस्तरमा वितरणका लागि आवश्यक प्रबन्ध गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ।







डिसी नेपाल







Facebook Comment