विगतमा पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भयोः किसान श्रेष्ठ

डिसी नेपाल
२४ कार्तिक २०८२ १८:१५
68
Shares

काठमाडौं। नेकपा एमालेमा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन्।

सोमबार राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे।

उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ।

यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ।

एमाले छोडेपछि पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको आफूहरुले बुझेको बताए।

आज केवल पार्टीमा फर्किएको मात्र नभई आदर्श, मार्ग र प्रतिबद्धता फर्काएको उनले बताए। देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा ओलीको नेतृत्वमा पुनः एकताबद्ध हुने उनको भनाई छ।

‘आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ। हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ। अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ। देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ। आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *