नेपाली फिल्मको अर्को ऐतिहासिक उपलब्धि- “राजागंज: पूजा सर” ३० हजार फिट माथि
काठमाडाैं। नेपाली चलचित्र “राजागंज : पूजा सर” विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू – कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्स—बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ। यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो सिनेमालाई हेर्न पाउनेछन्।
सन् २०१२ मा प्रतिष्ठित बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गरेको आदि फिल्म्सको पहिलो कथानक चलचित्र “हाईवे” नेपालको पहिलो फिल्म थियो जसले विश्वका प्रमुख चलचित्र महोत्सवमा प्रिमियर गरेको थियो। गत वर्ष संसारकै पुरानो भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएता पनि, नेपालका बाँसुरी फिल्म्स र नर्वेको ट्यानहाउजर गेटको सहकार्यमा आदि फिल्म्सले निर्माण गरेको “राजागंज : पूजा सर”ले बुसान, टालिन ब्ल्याक नाइट्स, गोथेबर्ग, सेलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जनौं प्रतिष्ठित महोत्सवमा नेपालको उपस्थिति जनाएको थियो। अब यसले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको प्रोग्रामिङमा समेत पुगेर नेपाली फिल्मका लागि अर्को उचाइ चुनेको त छँदैछ, नेपाली फिल्मका लागि नयाँ बजार पनि खोलिदिएको छ।
“कतार जस्तो ग्लोबली नम्बर १ मानिएको एयरलाइन्स नेपाल उड्छ, तर यिनले एउटा नेपाली सिनेमा प्रोग्राम गर्दैनथे। हामीलाई आफ्नो सांस्कृतिक उपस्थितिको लागि भएपनि यो स्पेसमा हाम्रो सिनेमा चाहिन्छ भन्ने लागेको हो। हाम्रै फिल्मबाट यो यात्रा शुरू हुँदा हामी गर्वान्वित छौं। यो हाम्रो कथाहरूको उडान मात्रै होइन, ३० हजार फिटमा उड्ने विश्व दर्शकबीच पुग्ने नेपाली फिल्महरूको यात्रा शुरूवात पनि हो।” राजागंजका निर्माता निरज श्रेष्ठ भन्छन्।
ग्लोबल इन-फ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले “राजागंज: पूजा सर”को अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरिरहेको हो। निर्माण स्रोतका अनुसार, यो कम्पनीले राजागंजको अन्तर्राष्ट्रिय इन-फ्लाइट वितरण अधिकार भेनिसमै किनेको थियो। फिल्मको थियेट्रिकल विन्डो अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरणको काम सुरू भएको हो। यो ५ वटा एयरलाइन्सको प्रोग्रामिङ प्रारम्भिकमा मात्र हो। पेनी ब्ल्याककी कन्टेन्ट डिस्ट्रिब्युसनकी भिपी हुलिएटा बोयरले थप एयरलाइन्सहरूसँगको डिल सम्झौताको क्रममा रहेको जनाएकी छिन्।
उनी भन्छिन्—
“मल्टि-लेयर्ड राजागंज: पूजा सर एयरलाइन्स चढ्ने विविध दर्शकलाई आकर्षित गर्न सक्ने उत्तम फिल्म हो। यसको इन-फ्लाइट यात्रामा साथ दिन पाउँदा अत्यन्त गर्व महसुस गरिरहेको छु। पूजा सरलाई अझ धेरै विश्वभरका इन-फ्लाइट स्क्रिनमा हेर्न आतुर छु।”
जनकपुरमा खिचिएको राजागंज: पूजा सर सत्य घटनाबाट प्रभावित छ। क्राइम थ्रिलर जनराको यो फिल्मले दुई बच्चाको अपहरणको मुद्दा अनुसन्धान र बच्चाको सुरक्षित रेस्क्यु अपरेसनका लागि काठमाडौंबाट पठाइएकी डिटेक्टिभ इन्स्पेक्टर पूजा थापालाई पछ्याउँछ। पूजा थापाको भूमिकामा आशा मगराती छिन्, जसले भर्खरै अमेरिकाको स्यान डिएगोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। मगराती बाहेक, यस चलचित्रमा निकिता चंडक, दयाहाङ राई, विजय बराल, रिचा शर्मा, आरती मंडल, गौमाया गुरूङ, पशुपती राई, घनश्याम मिश्रा र निरज श्रेष्ठहरूको अभिनय देख्न पाइन्छ।
हालै मात्रै फिल्म फ्रान्समा ६२ वटा स्क्रिनमा एकैपटक वाइड रिलिज भएको थियो। विदेशको सिनेमा थिएटरमा त्यो आकारको रिलिज नेपाली सिनेमाको लागि कहिँ पनि पहिलो हो। फ्रान्समा १७ हजार बढी दर्शकले यो फिल्म हेर्यो। “राजागंज”ले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय समीक्षकबाट बलियो समीक्षा, प्रशंसा बटुल्दै आएको छ। यही महिना यो बेलायतको मुख्य टेलिभिजन “च्यानल फोर”मा समेत प्रदर्शन भयो। च्यानलले प्रसारण बाहेक महिना दिनसम्म आफ्नो प्लेटफर्मबाट स्ट्रिम पनि गर्यो।
नेदरल्यान्डमा फिल्मले “फ्री टू बी मी अवार्ड” जितेको छ। साथै, प्रतिष्ठित विश्वविद्यालय हार्वर्ड, न्यूयोर्क, बोस्टनमा पनि यसको प्रदर्शन भयो।
नेपालमा भने “राजागंज” सरकारको सेन्सरसिपमा परेको थियो। १९ बढी कट सेन्सर बोर्डले गर्न लगायो। जसका कारण सिनेमाको मर्म नै मरेको निर्माण पक्षले गुनासो गरेका थिए। नेपाली दर्शक पनि खासै हलसम्म आएनन्।
तर निर्माता पूर्ण सिंह बराईलीका अनुसार, राजागंज फेरि नेपाली दर्शक माझ फर्किन लागेको छ। नर्वेको ह्वाइट र्याबिट र अमेरिकाको किनेमामा दुई फ्युचरिस्टिक प्लेटफर्मबाट संसारभर यो डिजिटल रिलिजको तयारीमा छ, जस्मा नेपाल पनि हुनेछ।
“हामी एउटा नयाँ एक्सपेरिमेन्ट गर्ने तयारीमा छौं,” बराईलीले भने, “किनेमामार्फत संसारभरि दुई सय बढी स्क्रिनिङ र कन्भर्सेसन गर्ने हाम्रो प्लान छ। अनाउन्स्मेन्ट केही दिनमा आउँछ।”
“नेपाल अहिले परिवर्तनको संघारमा छ। हाम्रो सिनेमा सान्दर्भिक छ। जेन जेड मूभमेन्टले पनि के देखायो भने नेपालले “सोल सर्चिङ” गर्न जरुरी छ। यो सिनेमाको स्क्रिनिङ र कन्भर्सेसनमार्फत हामी त्यो यात्रामा सघाउन चाहन्छौं।” बराईलीले थपे।
दीपक रौनियारको निर्देशन रहेको “राजागंज: पूजा सर”को लेखन दीपकसहित अभिनेत्री मगराती र डेभिड बार्करले गरेका हुन्। यसका निर्माताहरूमा रौनियार, रामबाबु गुरूङ, आशा मगराती, एलन आर मिलिगन, र निरज श्रेष्ठ छन्। कार्यकारी निर्मातामा सुपरस्टार दयाहाङ राई, ग्याङ्स अफ वासिपुर फेम्ड अनुराग कश्यप, अस्कर नोमिनेटेड निर्माता जस्लिन बार्न्स, नेपाल अमेरिका फिल्म फेस्टिभलका पूर्ण सिंह बराईलीलगायत छन्। सेल्डन चाउले यो फिल्मको सिनेमाटोग्राफी गरेका छन् भने जे हिम ली र एलेक्स गर्भिट्सले सम्पादन गरेका हुन्।
एयरलाईन्सको वेभसाईट लिंक
https://entertainment.aa.com/en/title/rajagunj-pooja-sir-2025
https://unitedprivatescreening.com/details-page?id=23875630
https://www.lufthansa-inflightentertainment.com/en/film/details/13667
https://www.swiss-inflightentertainment.com/en/film/details/13983
No ads found for this position

डिसी नेपाल
Facebook Comment