माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो
म्याग्दी। म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ। बाबियाचौर–सल्यान सडकखण्डको ग्याबियन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका–२ का २८ वर्षीय सत बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार प्रदेश अस्पताल बेनीमा उपचारका क्रममा बुढाको मृत्यु भएको हो। बुढासँगै ढिस्कोले पुरिएका रोल्पाको सुनछहरी–२ का टेकवीर बुढामगर र केशमान बुढामगरलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल बेनीमा ल्याइएको उनले जानकारी दिए।
टेकवीर र केशमान उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका र मृतक सत बुढाको शव प्रदेश अस्पतालको शवगृहमा परीक्षणका लागि राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए। आज दिउँसो करिब १ः०० बजेको समयमा काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खसेर उनीहरूलाई पुरेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment