पाहुनालाई स्वागत गर्न तैयार एक मुठ्ठी बादल परिवार

डिसी नेपाल
३ वैशाख २०८३ ८:४८
332
Shares

काठमाडौं । एक मुठ्ठी बादल : मेरो सेयर अफ स्काईले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरले चलचित्र भित्र रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै चलचित्रको कथा पारिवारिक रहेको संकेत गर्छ ।

पोस्टरको केन्द्रमा आँचल शर्मा छन् भने उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन् । घर भित्र सजिएको अवस्थामा रहेका उनीहरूको लवाइले कसैलाई स्वागत गर्न पर्खेझैँ देखिन्छ । यो पोस्टरले त्यो क्षण समात्छ, जब पाहुनाहरू आउनुअघि सबै जना तयार भएर बसिरहेका हुन्छन्। तर पाहुनाहरूले घरभित्र पस्दा, उनीहरूले मात्र घर होइन, घरभित्रका कुराकानी र मौनता पनि देख्छन् ।

पोस्टरको अग्र भागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईँ छन् भने पछाडिको भागमा सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन् । उनीहरूको बसाइले तीनै जना परिवारको हिस्सा नभएको संकेत गर्छ ।

त्यसैगरी भीमा मैनाली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारी मिलेर एउटा यस्तो परिवार बनेको देखिन्छ, जहाँ उनीहरूको सम्बन्ध त नजिक छ तर भित्र धेरै कुरा नबोली राखिएका छन् ।

सार्वजनिक अर्को पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ । यसमा पनि आँचललाई केन्द्रमा राखिएको छ र निशा शर्मा र उषा रजकका उत्सुक आँखाले आँचललाई नै हेरिरहेका छन् । यसले तीन महिलाबिचको सम्बन्धलाई संकेत गरेको छ ।

सहारा शर्मा द्वारा लिखित तथा निर्देशित यस चलचित्रका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन्। निर्माताहरूमा सारा फाजिलात, सामीप्य राज तिमल्सेना, अनुप पौडेल रहेका छन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन् ।

छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेष भूषा जानकी खडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा, र पोस्ट-प्रोडक्सन सुपर भिजन आश्मा गौतमले सम्हालेका छन् ।

गौँथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह-निर्माणमा बनेको यो चलचित्र नेपालभर जेठ १ (मे १५) बाट प्रदर्शनमा आउनेछ । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *