रास्वपा संसदीय दल बैठक : कविन्द्र बुर्लाकोटी प्रमुख सचेतक, दुई सचेतक नियुक्त

डिसी नेपाल
३ वैशाख २०८३ १४:४४
1.0k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीका महामन्त्री एवं गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतकको जिम्मेवारी दिने निर्णय गरेको छ।

पार्टीभित्र कुशल संगठकका रूपमा चिनिने बुर्लाकोटीले अब संसद्मा पार्टीको उपस्थिति र भूमिकालाई समन्वय गर्ने मुख्य जिम्मेवारी सम्हाल्नेछन्।

यसैगरी रास्वपाले सामान्यतया एक जना मात्र सचेतक राख्ने संसदीय अभ्यासभन्दा भिन्न दुई जना सचेतक नियुक्त गरेको छ। पार्टीले कार्यबोझ र समावेशितालाई ध्यानमा राख्दै दुई जना सचेतक तोकेको बताइकाे छ।

विवेकशील साझा पार्टी हुँदै रास्वपामा समाहित भएका प्रकाशचन्द्र परियारलाई सचेतकको जिम्मेवारी दिइएको हो। उनीसँग सञ्चार र राजनीतिक संगठनको लामो अनुभव छ। यसैगरी क्रान्तिशिखा धिताललाई पनि सचेतककाे जिम्मेवारी दिइएकाे छ।

टेलिभिजन पत्रकारिताबाट राजनीतिमा आएकी समानुपातिक सांसद धिताललाई पनि सचेतकको भूमिका दिइएको हाे। महिला प्रतिनिधित्व र युवा जोशलाई संसद्मा प्रभावकारी बनाउन उनको नियुक्ति महत्वपूर्ण मानिएको छ।

पार्टीका महामन्त्रीलाई नै प्रमुख सचेतकको जिम्मेवारी दिइनुले रास्वपाले संसद्लाई उच्च प्राथमिकतामा राखेको संकेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *