ट्रम्पको ‘एआई अवतार’ ले निम्त्यायो धार्मिक विवाद: क्रिस्चियन समाजद्वारा ‘ईश-निन्दा’ को आरोप
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा एउटा यस्तो तस्वीर साझा गरे, जसले उनलाई विश्वास गर्ने ठूलो धार्मिक हिस्सालाई समेत स्तब्ध बनाएको छ।
एआईद्वारा निर्मित उक्त तस्वीरमा ट्रम्पलाई येशू ख्रीष्टको जस्तै सेतो र रातो पहिरनमा देखाइएको थियो, जहाँ उनी एक बिरामी व्यक्तिको टाउकोमा हात राखेर निको पारिरहेको देखिन्छन्।
तस्वीरमा ट्रम्पको वरिपरि अमेरिकी झण्डा, चील र केही सेनाहरू देखिन्छन्। उनी एक दिव्य प्रकाशको बीचमा उभिएर चमत्कार गरिरहेको जस्तो मुद्रामा छन्। धेरैले यसलाई बाइबलमा वर्णित येशूका चमत्कारहरूसँग तुलना गरेका छन्।
क्रिस्चियन धर्मगुरु र टिप्पणीकारहरूले ट्रम्पले आफूलाई “मुक्तिदाता” को रूपमा प्रस्तुत गरेर धर्मको अपमान र ‘ईश-निन्दा’ गरेको आरोप लगाएका छन्।
ट्रम्पका कट्टर समर्थक मानिने इभान्जेलिकल क्रिस्चियन र क्याथोलिक नेताहरूले समेत यस पटक उनको खुलेर विरोध गरेका छन्।
“विश्वास कुनै राजनीतिक प्रोपोगान्डा होइन। आफूलाई येशूको स्थानमा राख्नु अहंकारको पराकाष्ठा हो,” चर्चित क्रिस्चियन एक्टिभिस्ट ब्रिलिन होलीह्यान्डले भनिन्।
प्रतिनिधि सभाका सभामुख माइक जोनसनले व्यक्तिगत रूपमा आग्रह गरेपछि ट्रम्पले उक्त पोस्ट डिलिट गरेका थिए। जोनसनका अनुसार, यो तस्वीरले धार्मिक भावनामा चोट पुर्याएको थियो।
धेरैले सामाजिक सञ्जालमा “परमेश्वरको खिल्ली उडाउनु हुँदैन” भन्दै ट्रम्पलाई तत्काल माफी माग्न माग गरेका छन्।
विवाद चर्किएपछि राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो बचाउ गरेका छन्।
उनले भने, “मैले त त्यसलाई एक डाक्टरको रूपमा बुझेको थिएँ। म मानिसहरूलाई निको पार्ने प्रयास गरिरहेको रेडक्रसको कामदार जस्तो देखिन चाहन्थेँ।” उनले अगाडि थपे, “मैले मानिसहरूलाई राम्रो बनाउँछु, र मलाई लाग्छ यो तस्वीर राम्रो थियो। तर मानिसहरू अलमलमा परेको देखेपछि मैले यसलाई हटाइदिएँ।” यद्यपि, तस्वीरमा उनी आधुनिक डाक्टर नभई प्राचीन धार्मिक पोशाकमा देखिएकाले उनको यो तर्कलाई धेरैले पत्याएका छैनन्।
यो विवाद यस्तो समयमा आएको छ, जब ट्रम्पको क्याथोलिक धर्मका सर्वोच्च नेता पोप लियो १४ औंसँग पहिले नै तनाव चलिरहेको छ। पोपले अमेरिका-इरान युद्धको विरोध गरेपछि ट्रम्पले उनलाई सामाजिक सञ्जालमा “कमजोर र राजनीतिज्ञ” भन्दै आलोचना गरेका थिए।
आगामी निर्वाचनको मुखमा आफ्नै मुख्य ‘भोट बैंक’ मानिने क्रिस्चियन समुदायलाई चिढ्याउनु ट्रम्पका लागि महँगो सावित हुन सक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ। एआई प्रविधिको दुरुपयोगले धार्मिक र सांस्कृतिक संवेदनशीलतालाई कसरी खल्बल्याउन सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण बनेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment