कञ्चनपुरमा लागूऔषध मुद्दामा ३३४ जना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
महेन्द्रनगर । गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ । गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागूऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागूऔषध बरामद गरिएको छ ।
‘गएको वर्ष लागूऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो’, प्रहरी उपरीक्षक खत्रीले भने, ‘हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौं।’ उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए।
‘टोल विकास समिति तहसम्म स्थानीय चनाखो हुनुपर्ने बेला आइसक्यो’, उनले भने, ‘लागूऔषध सेवक र दुर्व्यसनको विषयमा प्रहरीलाई समयमा सूचना आदालन प्रदान आवश्यक छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधिसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी जेठ महिनाममा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मङ्सिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुला सीमानाकाका कारण भारतबाट लुकिछिपी लागूऔषध आयात हुने गरेको छ । पछिल्लो समय नेपाल-भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए ।
‘भारतीय पक्षसित हामीले लागुऔषध नियन्त्रणका लागि गम्भीर हुनु भनिरहेका हुन्छौँ’, उनले भने, ‘खुला सीमानाकाका कारण कञ्चनपुर र कैलालीका साथै पहाडी जिल्लामा पैठारी हुने गरेको सूचना आउँछ । यो विषयमा अभिभावक, समाजका सबै नागरिक, शिक्षकलगायत सबै चिन्तित र संवेदनशील भएर लाग्नु पर्ने बेला भयो । लागुऔषधले युवा पुस्ता प्रभाविन बने मुलुकमा अर्को समस्या निम्तिन सक्छ ।’
उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए । ‘प्रहरी प्रशासनको प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण हुन सम्भव छैन’, खत्रीले भने, ‘यसका लागि सबै हातेमालो गरौँ । समाजमा सचेतना फैलाऔँ ।’







डिसी नेपाल







Facebook Comment