सरकारले पुन: फेर्‍यो निर्णय, सरकारी अस्पतालको ओपीडी आइतबार पनि बन्द रहने

डिसी नेपाल
४ वैशाख २०८३ १६:३५
1.7k
Shares

काठमाडौं । सरकारी अस्पतालको ओपीडीमा आइतबार पनि बन्द रहने भएको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा दुई दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै आइतबार ओपीडी खुला गर्न आग्रह गरेको थियो।

मन्त्रालयको यस्तो निर्णयसँगै चिकित्सक स‌ंघले आइतबार ओपीडी खोल्न नसक्ने बताएपछि सरकारले पुन: सरकारी अस्पतालमा आइतबार बिदा कायम गर्ने निर्णय गरेको हो।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ।

‘नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया (OT) लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझै २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ,’ विज्ञप्तिमा भनिएको छ।

आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजतालाई ध्यानमा राखी पुनः तालिका गरिने मन्त्रालयले जनाएको छ।

सेवा उपलब्ध नभएका अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने व्यवस्था मिलाइने र एम्बुलेन्स सेवा सधैँ तयारी अवस्थामा राखिने पनि मन्त्रालयको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *