चितवनमा सवारी दुर्घटना घट्दैः चालु वर्षमा ४५८ दुर्घटना
चितवन। जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आवमा सवारी दुर्घटना घट्दै गएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आवमा ४५८ वटा सवारी दुर्घटना भएका छन्।
कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक अनिल थापाका अनुसार ती दुर्घटनामा परी ८१ जनाको मृत्यु भएको छ भने ८६८ जना घाईते भएका छन्। तीमध्ये ८४ जना गम्भीर घाइते भएका छन् भने ७८४ जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो। मृत्यु हुनेमा ५६ पुरुष, २२ महिला र तीन जना बालबालिका रहेका उनले जानकारी दिए।
यहाँ भएका दुर्घटनामा ६८० वटा सवारीसाधन परेका छन्। तीमध्ये सबैभन्दा बढी ४०८ वटा मोटरसाइकल रहेका प्रहरी निरीक्षक थापाले बताउनुभयो। गत आवको सोही अवधिमा जिल्लामा ७७२ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा एक हजार १८७ वटा सवारीसाधन परेका थिए। ती सवारीसाधनमा मोटरसाइकल ५९० रहेका कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
प्रहरी निरीक्षक थापाका अनुसार ती दुर्घटनामा परी ८९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा ७३ पुरुष, १५ महिला र एक जना बालबालिका रहेका जनाउँदै उनले गम्भीर घाइते १३८, सामान्य घाइते एक हजार २२७ जना रहेका बताए।
जिल्लामा सबैभन्दा बढी दुर्घटनाभित्री सडकमा हुने गरेको प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिए। उनले अनुसार भित्री सडकमा २४४, पूर्वपश्चिम राजमार्गमा ११२ दुर्घटना भएका बताए। नारायणगढ-मुग्लिन सडकखण्ड, पृथ्वी राजमार्ग र सहरी क्षेत्रका सडकमा १०२ वटा दुर्घटना भएका उनले जानकारी दिए।
तीव्र गति, उछिन्दा, मादकपदार्थ तथा लागुपदार्थ सेवन गरेर सवारी चलाउँदा बढी मात्रामा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक थापाले बताए। सचेतनाको कमीले दुर्घटना बढेको पाइएपछि विद्यालयस्तरमा दुर्घटना नियन्त्रणसम्बन्धी अन्तरक्रिया गर्ने, पोष्टर, पम्प्लेट वितरणलगायत कार्यक्रम कार्यालयले गर्दै आएको उनले जानकारी दिए।







डिसी नेपाल







Facebook Comment