सर्वोच्चको फैसला स्वीकार गर्ने देउवा पक्षको निष्कर्ष
काठमाडौं। विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसला नेपाली कांग्रेसको देउवा पक्षले स्वीकार गर्ने निष्कर्ष निकालेको छ।
शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको हो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गर्ने परम्परा अनुसार फैसला स्वीकार गर्ने निष्कर्षमा पुगेको बताए।
उनका अनुसार नेपाली कांग्रेसले न्यायालयले गरेका निर्णयलाई सधैं आत्मसात गर्दै आएको उल्लेख गर्दै यसपटक पनि फैसलाप्रति असन्तुष्टि भए पनि त्यसलाई स्वीकार गर्ने निर्णय गरिएको हो।
‘अदालतमा दुवै पक्ष आ-आफ्नो दाबी विरोध लिएर गइरहेको अवस्थामा दुवै पक्षले आफ्ना आफ्ना गतिविधिलाई निरन्तरता दिनू, तीव्रता दिनू र त्यसलाई सशक्त बनाइँदै लैजानु स्वाभाविक हो,’ उनले भने, ‘हामीले पनि त्यही गतिविधि गरेका थियौं। अर्को पक्षले यसलाई गैरकानुनी, अवैधानिक भन्नु पनि निरर्थक हो। हास्यास्पद थियो। अर्थपूर्ण थिएन।’
उनले सर्वोच्च अदालतको राजनीतिक दलसम्बन्धी ऐनको व्याख्याप्रति देउवा पक्षमा केही असन्तुष्टि रहेको संकेत गरे। नेता विश्वकर्माले देशभर पार्टी एकताप्रति चिन्ता व्यक्त भइरहेको बताउँदै सबै पक्ष पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेको जानकारी दिए।
उनले कांग्रेस सभापति गगन थापा रहेको उल्लेख गर्दै पार्टी एकताको निष्कर्षमा पुग्ने जिम्मेवारी पनि उनकै काँधमा रहेको बताए।
यसअघि देउवा पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिकै हैसियतमा प्रस्तुत गर्दै आएको थियो।







डिसी नेपाल







Facebook Comment