नारायण तिवारीको ‘जङ्गबहादुर पनि हाँस्छ ?’ सार्वजनिक
काठमाडौं। कथाकार नारायण तिवारीकृत कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ?’ एक समारोहका बीच सार्वजनिक गरिएको छ। शिखा बुक्सद्वारा आयोजित कार्यक्रममा कृतिको सामूहिक लोकार्पण गरिएको हो।
नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा सम्पन्न कार्यक्रममा प्रमुख समालोचकका रूपमा प्रा. डा. दयाराम श्रेष्ठ रहेका थिए। कार्यक्रम शिखा बुक्सका कार्यकारी निर्देशक पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। प्रस्तुत कृति तिवारीको बाह्रौँ कृति हो।
कार्यक्रममा बोल्दै श्रेष्ठले कथा लेखनका प्राविधिक र ऐतिहासिक पक्षमध्ये ऐतिहासिक पक्षमा केन्द्रित हुँदै तिवारीका कथाहरू सरल भए पनि गम्भीर हुने गरेको बताए। उनले २०३० सालमा प्रकाशित ‘ती सबै मेरा सपना थिए’ लगायतका कृतिको स्मरण गर्दै तिवारीले पूर्वी तराईको परिवेश, सामाजिक परम्परा, कुरीति तथा आधुनिक साइबर संस्कृतिसम्मलाई कथामा समेट्ने गरेको उल्लेख गरे गरे।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. ज्ञानु अधिकारी ले तिवारीका कथाहरू सरल तर परिष्कृत रहेको बताउँदै सङ्ग्रहभित्रका २७ कथामध्ये ‘जमाना खराब छ’, ‘कुर्ता सुरुवाल’ र ‘टुंग–टुंग’ कथाको विशेष चर्चा गरिन्। उनका अनुसार कथाहरूमा पूर्वी तराई, विशेषतः विराटनगरको परिवेश झल्किने र पुरुष पात्रका कथाहरू प्रमुख रूपमा देखिने विशेषता रहेको छ।
पाठकीय मन्तव्य राख्दै कवि श्यामलले कथाको भाषा, संरचना र प्रस्तुति शैली प्रभावकारी रहेको उल्लेख गरे। उनले कथामा समकालीन समस्या, सामाजिक यथार्थ र मैथिली भाषाको प्रयोग उल्लेखनीय रहेको बताए।
अर्का कथाकार नारायण ढकालले तिवारीका कथाहरू सरलताभित्र गहिरो अर्थ बोकेको उल्लेख गर्दै नेपाली कथा परम्परामा पुष्कर शमशेर, विश्वेश्वरप्रसाद कोइराला र गुरुप्रसाद मैनालीको योगदानसमेत स्मरण गरे।
कार्यक्रममा कृतिकार तिवारीले आफ्नो लेखन यात्राबारे प्रकाश पार्दै उपस्थित सबैप्रति आभार व्यक्त गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गरेका थिए। पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ राखिएको छ।







डिसी नेपाल







Facebook Comment