गौर यातायात कार्यलयबाट एक जना बिचौलिया पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहटले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई हैरानी दिने कार्यमा संलग्न एक जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो करिब १ः३० बजेको समयमा गौर नगरपालिका वडा नं. ३ स्थित यातायात व्यवस्था कार्यालयको कम्पाउण्ड भित्रबाट प्रहरीले लक्ष्मी कुमार केशरीलाई नियन्त्रणमा लिएको हो। ४० वर्षीय केशरी गौर न.पा. वडा नं. ५ दोस्तिया टोलका बासिन्दा हुन्।
प्रहरीका अनुसार केशरीले यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गराइदिने बहानामा अनावश्यक झन्झट दिने र हैरानी पार्ने गरेका थिए। उनले सेवाग्राहीका कागजातहरू बोकी विभिन्न फाँटहरूमा जाने र ‘सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिन्छु’ भन्दै विभिन्न प्रलोभन देखाई मोलमोलाई गरिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिएका छन्।
प्रहरीले सरकारी कार्यालयहरूमा हुने यस्ता बिचौलिया गतिविधिविरुद्ध निगरानी बढाएको र कोही कसैलाई पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment