युद्धविराम घोषणाको केही घण्टामै होर्मुज जलमार्ग अशान्त: तीन जहाजमाथि शंकास्पद आक्रमण
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गरेको केही घण्टामै होर्मुज जलमार्गमा तनावको नयाँ श्रृंखला सुरु भएको छ।
युद्धविरामको घोषणालाई कूटनीतिक सफलताका रूपमा हेरिए पनि, व्यवहारमा भने इरानले उक्त जलमार्गमा व्यावसायिक जहाजहरूलाई लक्षित गरी आक्रमण र नियन्त्रणमा लिने कार्य गरेपछि क्षेत्रीय सुरक्षामा थप जटिलता उत्पन्न भएको छ।
प्राप्त विवरणअनुसार, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले बुधबार होर्मुज जलमार्गमा गुडिरहेका तीनवटा जहाजलाई लक्षित गर्दै आक्रमण गरेको थियो। सोही क्रममा दुईवटा जहाजहरूलाई नियन्त्रणमा लिई इरानी किनारतर्फ लगिएको छ।
आक्रमणको सिकार भएका जहाजहरूमा एमएससी फ्रान्सेस्का र इपामिनोन्डास रहेका छन्, जसलाई इरानी सुरक्षा फौजले आफ्नो नियन्त्रणमा लिएको हो। घटनामा कुनै पनि चालक दलका सदस्य घाइते नभएको बताइए पनि यसले अन्तर्राष्ट्रिय समुद्री व्यापार र सुरक्षामा गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
अमेरिकी प्रशासनले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी कायमै राखेको र सोही जवाफमा इरानले उक्त कदम चालेको विश्लेषकहरूको बुझाइ छ। राष्ट्रपति ट्रम्पले युद्धविराम लम्ब्याउने निर्णय गरे पनि इरानले त्यसलाई पूर्णतः अस्वीकार गर्दै अमेरिकाको नाकाबन्दी र सैन्य उपस्थितिलाई युद्धविरामको उल्लंघन भन्दै आएको छ।
इरानी अधिकारीहरूले आफूले गरेको यो कारबाहीलाई ‘सुरक्षात्मक कदम’ भन्दै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले जलमार्गमा गरिरहेको नाकाबन्दीको जवाफ भएको स्पष्ट पारेका छन्।
होर्मुज जलमार्ग विश्वको करिब २० प्रतिशत तेल आपूर्तिको प्रमुख मार्ग हो। यस क्षेत्रमा भइरहेको निरन्तरको आक्रमण र जहाज नियन्त्रणका घटनाहरूले विश्वभर इन्धनको मूल्यमा अचाक्ली वृद्धि गराउने र आपूर्ति शृङ्खलामा ठूलो अवरोध सिर्जना गर्ने चिन्ता बढेको छ।
यद्यपि, ह्वाइट हाउसले इरानले नियन्त्रणमा लिएका जहाजहरू अमेरिकी वा इजरायली नभई अन्तर्राष्ट्रिय कम्पनीका भएकाले यो युद्धविरामको सीधै उल्लंघन नभएको जिकिर गर्दै आएको छ, तर कूटनीतिक वृत्तमा भने यसले शान्ति वार्ताको सम्भावनालाई थप क्षीण पारेको टिप्पणी भइरहेको छ।
घटनापछि अन्तर्राष्ट्रिय समुद्री समुदायले यस क्षेत्रको सुरक्षा व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने दबाब बढेको छ। एकातिर वार्ताको ढोका खुला राख्ने अमेरिकी प्रयास र अर्कोतिर मैदानमा देखिइरहेको सैन्य मुठभेडले गर्दा यो क्षेत्र अझै केही समय तनावग्रस्त रहने निश्चित प्रायः देखिएको छ।
थप कूटनीतिक पहल नभएमा यस किसिमका आक्रमणहरूले समुद्री व्यापारमा थप जोखिम निम्त्याउने र क्षेत्रीय द्वन्द्वलाई नयाँ उचाइमा पुर्याउने खतरा उत्तिकै रहेको छ।







डिसी नेपाल







Facebook Comment