गर्मी र आगलागी जोखिम न्यूनीकरणका लागि व्यापक तयारी आवश्यक

डिसी नेपाल
१० वैशाख २०८३ १६:५१

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले अत्यधिक गर्मी तथा तातो हावाको लहरबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताएका छन्।

अत्यधिक गर्मी वा तातो हावाको लहरसम्बन्धी पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि आयोजित छलफल कार्यक्रममा बोल्दै उनले प्राप्त सबै सुझावहरूलाई समेटेर अन्तिम रूप दिइने जानकारी दिए।

‘जतिपनि यसमा सुझावहरू आएका छन्, सबै उपयोगी छन्। ती सुझावहरूलाई संकलन गरेर अन्तिम ढाँचामा तयार गरी अगाडि बढाउनेछौँ,’ उनले भने।

उनले अत्यधिक गर्मीका कारण सर्वसाधारणले विभिन्न समस्या भोगिरहेको बताए। उनले तापक्रम बढेसँगै आगलागीका घटनामा समेत वृद्धि भइरहेको बताए।

‘जति तातो बढ्दै जान्छ, त्यति आगलागीका घटना पनि बढिरहेका छन्। त्यसैले यससँगै आगलागी नियन्त्रणका लागि पनि सचेतना बढाउन आवश्यक देखिन्छ,’ उनले भने।

भट्टले विपद् व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको पनि बताए। ‘निजी क्षेत्रलाई यसमा जोड्नुपर्छ।

नेपाल उद्योग वाणिज्य महासंघदेखि व्यापारीसम्मलाई समेट्नुपर्छ,’ उनले भने, ‘तर केवल केन्द्र स्तरमा मात्र नभई स्थानीय तहसम्म निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिए प्रभावकारी सहयोग प्राप्त हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *